घरमै बसेर ‘इद उल अज्हा’ मनाउन आग्रह

स्काई न्यूज /साउन १६, सुर्खेत ।
सुर्खेतका मुस्लिम अगुवाले इद उल अज्हा (बकर ईद) घरमै नमाज पढेर मनाउन आग्रह गरेका छन् । नेपाली सुन्नी जामे मस्जिद सुर्खेतले  कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिम कायमै रहेको भन्दै सम्पूर्ण मुस्लिम समुदायमा यस्तो अनुरोध गरेको हो । मुस्लिम अगुवासहित मस्जिदका पदाधिकारीहरुको सल्लाह बमोजिम अन्य सबै आ–आफ्नो तरिका अनुसार घरमै बसी नमाज पढी ईद मनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको नेपाली सुन्नी जामे मस्जिदका सचिव शफिउल्ला मियाले बताए । यद्यपि सामाजिक दुरी कायम गरि इद उल अज्हाको नमाज मस्जिदमा पाँच जनासम्मले पढ्न पाउने उनको भनाई छ । कोभिड–१९ रहँदासम्म सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका अन्य उपाय अपनाउन पनि सचिव मियाले आग्रह गरेका छन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना नियन्त्रणका लागि सजग र सतर्कता अपनाउँदै लकडाउन कार्यान्वयन गर्नु मुस्लिम समुदायको पनि दायित्व रहेको बताए । बकर इदको नमाज पढेपछि छरछिमेकमा पुगि एक अर्कामा शुभकामना आदानप्रदान नगर्न समेत उनले आग्रह गरेका छन् । यतिबेला विशेष परिस्थिती भएकाले ईन्टरनेटलगायतका सामाजिक सञ्जालका माध्यमबाट भने शुभकामना आदानप्रदान गर्न उपयुक्त हुने उनको सुझाव छ ।

Translate »