३२ वर्ष पछि ७० करोड लागतमा सुर्खेतको ड्रिम प्रोजेक्ट शुरु हुँदै

कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणलाइन

स्काई न्यूज /साउन १५, सुर्खेत ।
कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणलाइन आयोजनाको काम शुरु हुने भएको छ । सुर्खेतको ड्रिम प्रोजेक्टका रुपमा रहेको यो आयोजना झण्डै ३२ वर्षपछि शुरु हुन लागेको हो । यो आयोजनाका लागि यहाँका बासिन्दाले वर्षौदेखि प्रतिक्षा गरिरहेका थिए । लामो प्रयासपछि यो आयोजनाले १३२ केभिए विद्युत प्रशारण लाइन विस्तारका लागि निर्माण सम्पनीसँग सम्झौता गरेको छ । आयोजना निर्माण कम्पनीले अबको दुई वर्षभित्र काम सम्पन्न गर्ने गरि झण्डै ७० करोड रुपैयाँमा सम्झौता गरेको हो । निर्माण सम्झौता भएसँगै कोहलपुरदेखि सुर्खेतसम्म जोड्ने विद्युत लाइन विस्तारको काम अगाडि बढ्ने भएको हो । गएको असार २२ गते आयोजनाले भारतीय निर्माण कम्पनी ‘आरएस इन्फाप्रोजेक्ट प्राइभेट लिमिटेड’ सँग निर्माणका लागि सम्झौता गरेको थियो । योसँगै अब निर्माण कम्पनीले विद्युत लाइन प्रशारणको लागि डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्टको खरीद लगातका सम्पूर्ण काम अबको दुई वर्षभित्र गरिसक्नु पर्नेछ ।

आयोजनाका प्रमुख रविकुमार चौधरीका अनुसार पहिलो चरणमा इकाउन्टिङ र लाइन विस्तार गर्ने क्षेत्रमा रहेका रुख कटान लगायतका कामहरु हुनेछन् । आजभन्दा झण्डै ३२ वर्ष पहिले अर्थात २०४५ सालमै १३२ केभिए प्रशारणलाइन सुर्खेतसम्म ल्याउने कसरत थालिएको थियो । तर लामो समयसम्म विद्युत लाइन विस्तार हुन सकेको थिएन । यसले गर्दा यस क्षेत्रमा विद्युत सेवा भरपर्दो थिएन । उपभोक्ताले लामो समयदेखि सास्ती भोग्दै आइरहेका छन् । तोकिएकै समयमा १३२ केभिए लाइन विस्तार भएमा यस क्षेत्रको विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । साथै अहिलेको लोभोल्टेजको समस्या पनि समाधान हुनेछ । लाइन विस्तार नभएकै कारण सुर्खेत, सल्यान, रुकुमपश्चिम, जाजरकोट र दैलेखका नागरिकले लोभोल्टेजका कारण हैरानी भोग्दै आएका छन् । आयोजना सम्पन्न भएपछि कर्णाली प्रदेशलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको छ ।


कोहलपुरदेखि सुर्खेतसम्म कुल एकसय ४५ वटा पोल रहने छन् । जसमा २६ वटा एंगल टावरहरुको प्रस्ताव गरिएको छ । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन अनुसार आयोजना क्षेत्रको उचाईगत फरक एकसय ६० मिटरदेखि एकहजार एकसय १५ मिटरसम्म रहेको छ । प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा यसको बफरजोन, बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्नेछ । जसमा प्रसारण लाइनको ७० दशमलव ५४५ भाग वनको क्षेत्र, १६ दशमलव १३५ खेतीयोग्य जमिन, २ दशमलव २६५ बाजो जमिन, तथा ११ दशमलव ०६५ अन्य भागले ओगटेको छ । विद्युत प्रसारण लाइन विस्तार कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल दुईसय २५ वर्गमिटर हुनेछ । आयोजना कार्यान्वयन गर्दा कुल ९८ दशमलव ०५७९ हेक्टर जग्गामा टावर निर्माण, सव–स्टेशन तथा क्षेत्राधिकारको लागि आवश्यक पर्नेछ । जसमध्ये ३ दशमलव ७२४९ हेक्टर स्थायी रुपमा सव–स्टेशन निर्माणको लागि र ३ दशमलव ३०७५ हेक्टर टावरको जग निर्माणको लागि अधिग्रहण गरिनेछ । बाँकी ९१ दशमलव ०२५५ हेक्टर जमिन अस्थायीरुपमा प्रयोग गरिनेछ । आयोजना कार्यान्वयन गर्दा बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका, सुर्खेतको भेरीगंगा, लेकवेशी र वीरेन्द्रनगर नगरपालिकाहरु प्रभावित हुनेछन् । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारण लाइनको विस्तार गर्दा झण्डै सात हजार भन्दा बढी रुखहरु कटान हुनेछन् । आयोजनाका प्रमुख चौधरीले दिएको जानकारी अनुसार कोहलपुरदेखि सुर्खेतसम्म सात हजारभन्दा बढी रुखहरु काटिने भएका हुन् । निकुञ्ज क्षेत्र भएर लाइन विस्तार हुने भएकाले पनि धेरै रुख काट्नुपर्ने अवस्था आएको हो । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग रुख कटानका लागि अनुमति मागिएको र फाइल वातारण मन्त्रालयमा फाइल पेश भएको छ । रुख कटानका लागि मन्त्रिपरिषद्बाट निर्णय गराउनुपर्छ । मन्त्रीपरिषदले निर्णय गरेपछि मात्रै रुखहरु काट्न शुरु गरिने आयोजना प्रमुख चौधरीले जानकारी दिए । रुख कटानको अनुमति नपाउँदासम्म निर्माण कम्पनीले प्राविधिक कामहरु गर्नेछ । आयोजनाको कुल लम्बाई करिब ५१.४६२ किलोमिटर लम्बाई डबल सर्किटको रहने प्रस्ताव गरिएको छ ।

आयोजना विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री एवम् सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य नवराज रावतको विशेष पहल रहेको छ । ३२ वर्षदेखि बेवारिसे बनेको सुर्खेतको ड्रिम प्रोजेक्ट कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणलाइन विस्तारको काम जनप्रतिनिधिले पहल गरे अनुसार सरकारले बनाउन लागेको राज्यमन्त्री रावतले बताए । उनले उद्योग, व्यवसायको चौतर्फी विकासका लागि अति महत्वपूर्ण मानिएको कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणलाइन विस्तारले सुर्खेतवासीलाई मात्र नभई कर्णालीका बासिन्दालाई समेत सुविधा पुग्ने जनाए । कोहलपुर–सुर्खेत १३२ केभीए विद्युत प्रशारणलाइन विस्तारका लागि रकम अभाव हुन नदिने उनको भनाइ छ ।

Translate »