सचिव बिके भन्छन् : दलितको ६० प्रतिशत दिमाग त जातले खाइरहेकाे छ

बागमती प्रदेशका नवनियुक्त सचिव मानबहादुर बिकेले दलित युवाको ६० प्रतिशत दिमाग जातले खाइरहेको बताएका छन् ।

दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव बन्न सफल बिकेलाई बधाई तथा शुभकामना दिन क्रियाशील दलित पत्रकार संघ नेपाल (आडजोन)ले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले जातीय विभेदका कारण दलित युवाको ६० प्रतिशत सोचाइ त्यसैमा खर्च हुने अनुभूति सुनाएका हुन् ।

सचिव बिकेले आजको आधुनिक पुस्ताले समेत हजारौं वर्षको उही पुरानो परम्परा भोग्नुपरिरहेको भन्दै चिन्ता व्यक्त गरे । ‘दुई–दुईपटक ठूला राजनीतिक परिवर्तन भए, तर दलित समुदाय उही विभेदमा गाँजिनुपरेको छ,’ उनले भने, ‘प्रजातन्त्रको ३० वर्ष बितिसक्दा पनि आजको पुस्ताले मेरै पुस्ताको जस्तो समस्या भोग्नुपरिरहेको छ ।’

दलित युवा पुस्तामा जातीय विभेदको असर नराम्रोसित परेको औल्याउँदै उनले जातीय उत्पीडनको भारी बोक्न बाध्य मस्तिष्कलाई लोकसेवा तथा अन्य प्रकारका प्रतिस्पर्धामा उत्रिन बाधा परेको बताए । ‘कूल मस्तिष्कको ६० प्रतिशत हिस्सा त जातीय समस्याकै विषयमा सोचेर बिताउनुपरेको छ,’ सचिव बिकेले भने ।

पटक–पटक राजनीतिक परिवर्तन भए पनि राजनेताहरूले जातीय विभेदका विषयमा ध्यान केन्द्रित गर्न नसक्दा आजको दलित युवा झनै मानसिक तनाव झेल्न बाध्य भइरहेको उनको विश्लेषण छ । ‘हाम्रो जमानामा अधिकारको चेतना यो स्तरमा विकास भएको थिएन, जुन आजको युवामा छ, तर त्यो चेतना जातीय विभेदकै चिन्तनमा घुमिरहेको छ,’ उनले भने ।

बाहिरबाट हेर्दा विभेद नदेखिने तर भित्रभित्र भेदभाव हुने गरेकाले प्रतिस्पर्धामा असर परेको बताउँदै उनले जबसम्म विभेद अन्त्य हुँदैन, तबसम्म खुला प्रतिस्पर्धामा पुग्न गाह्रो हुने बताए ।

उनले ३० वर्षअघि आफू काठमाडौंमा पढ्न बस्दा जात थाहा पाएर घरबेटीले डेराबाट निकालेको स्मरण गर्दै हालै बालाजुमा दीपा नेपालीले पनि त्यस्तै अपमान भोग्न बाध्य हुनुले विभेद ज्यूँका त्यूँ रहेको प्रस्ट भएको बताए ।

यसर्थ यस्तो अत्याचारविरुद्ध पत्रकारिताका माध्यमबाट सशक्त आवाज उठाउँदै समाज रूपान्तरणमा योगदान पुर्याउन सकिने  धारणा उनले राखे ।

दलित समुदायबाट नेपाल सरकारको पहिलो सचिव बन्न सफल बिकेलाई क्रियाशील दलित पत्रकार संघ नेपालले सम्मानपत्रसहित बधाई दिएको हो ।

यस क्रममा संघकी अध्यक्ष पवित्रा सुनारले सचिव बिके दलित समुदायका लागि प्रेरणाको स्रोत बनेको बताइन् । संघले दलित पत्रकारलाई एकताबद्ध गराउँदै मिडियामा दलितका मुद्दा उजागर गराउन जोड दिने उनले जानकारी दिइन् । (नागरिक)

Translate »