भदौदेखि बसपार्क सञ्चालनमा आउँदै

 

स्काई न्यूज / साउन १०,सुर्खेत ।
कर्णालीको प्रदेशको राजधानी वीरेन्द्रनगरमा नवनिर्मित सिटी बसपार्क भदौदेखि सञ्चालनमा आउने भएको छ । निर्माण सम्पन्न भएको एक वर्षपछि बसपार्क सञ्चालनमा आउनेभएको हो । एक वर्ष अघि नै निर्माण कार्य सम्पन्न भए पनि नगरपालिका र व्यवसायीबीच विवाद भएपछि बसपार्क सञ्चालनमा आउन ढीला भएको थियो ।वीरेन्द्रनगर नगरपालिकाले विवाद सुल्झिएको बताउँदै आगामी भदौ १ गतेदेखि बसपार्क सञ्चालन गर्ने गरी तयारी थालेको बताएको छ । बुधवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले पनि बसपार्क सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको थियो ।बसपार्क सञ्चालनका लागि गत मंसिर १६ गते नगरपालिकाले टेण्डर आह्वान गरेको थियो । बसपार्कमा पहिलेदेखि नै व्यवसाय गर्दै आएका ५४ जना व्यवसायीले उच्च अदालत सुर्खेतमा गत पुस १३ गते आफूहरूलाई प्राथमिकता नदिएर पूर्वसहमति विपरीत टेण्डर गरिएको भन्दै रद्द गर्न रिट दायर गरेका थिए । नगरपालिका र व्यवसायीबीच पुरानो बसपार्कमा व्यापार गरिरहेकालाई बसपार्क निर्माणपछि व्यापार–व्यवसाय गर्न दिने सहमति भएको थियो । तर सहमति कार्यान्वयन नभएपछि उनीहरूले अदालतमा रिट दायर गरेका हुन् । उक्त रिटमाथि गत फागुन अन्तिमतिर उच्च अदालतले सुनाइ गर्दै प्रतिस्पर्धा गराउने तर पूराना व्यवसायीलाई प्राथमिकता दिनु भनी सुनाइ गरेपछि विवाद सुुल्झिएको हो । यो सुनुवाइसँगै बसपार्क सञ्चालन गर्न बाटो खुलेको हो ।नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत टिकाराम ढकालले भदौदेखि सिटी बसपार्क सञ्चालन गर्ने गरी तयारी गरिएको वताए । उनले अहिले बसपार्कमा कोरोना संक्रमितको उपचारका लागि आईसोलेशन सेन्टर बनाइएकाले उक्त आईसोलेशन सेन्टरलाई अस्पतालसँग समन्वय गरेर व्यवस्थापन गर्ने तयारी भएको जानकारी दिए । उनले भने, ‘हामीले चैतदेखि नै बसपार्क सञ्चालनको तयारी गरेका थियौं तर लकडाउन भएपछि रोकिएको हो । अब भदौ १ गतेदेखि सञ्चालन हुन्छ ।’ उनका अनुसार टेण्डर आह्वान गर्दा दुई ओटा कम्पनीको प्रतिस्पर्धा भएको थियो ।जसमध्ये पीआर कन्स्ट्रक्सनलाई ठेक्का परेको थियो । अब केहि दिनमै उक्त कन्स्ट्रक्सनसँग सम्झौता हुने र बसपार्क सञ्चालनको सम्पूर्ण जिम्मा दिने तयारी गरिएको नगरपालिकाले बताएको छ । उक्त कम्पनीले बसपार्क सञ्चालन गरे वापत मासिक रू।२७ लाख ५६ हजार १०० नगरपालिकालाई बुझाउनुुपर्ने छ । बसपार्कमा ५४ सटर, ग्यारेज, टिकट काउण्टर, शौचालय, पार्किङ्गस्थल निर्माण गरिएको छ । बसपार्क रू।७ करोड ४४ लाख लागतमा निर्माण भएको हो ।विसं २०६८ सालदेखि बसपार्क निर्माण शुुरु भएको थियो । बीचमा काम राम्रोसँग अघि नबढेपछि २०७२ सालदेखि पुुनः बसपार्कको निर्माण कार्य शुरु गरिएको थियो ।

Translate »