विदेशमा कोरोनाबाट थप १६ नेपालीको निधन

रासस/ साउन ५,काठमाडौं ।
महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, युएईमा पाँच र कुवेतमा तीन जनाको निधन भएको हो । कतारमा निधन भएका आठमध्ये दुई जनाको निधन हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी ६ जनाको निधनपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण निधन भएको समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिए।संघका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ । हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको सङ्घको तथ्याङ्क छ । यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ ।

Translate »