अब कोरोनासंगै ‘सलह’ आतंक

स्काई न्यूज / साउन २, सुर्खेत ।
विनाशकारी सलहको झुण्ड कर्णालीका विभिन्न जिल्लामा भित्रिएको छ । भारतमा आतंक मच्चाउँदै नेपाल भित्रिएको करोडौंको संख्याको समूहमा आएको सलहको झुण्डले शुक्रबार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘धमाकेदार’ उपस्थिति जनाएको हो । पुर्खाहरुबाट सहल किरा बारे सुनेको कथन शुक्रबार सुर्खेतबासीले प्रत्यक्ष भोगेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हावाको दिशा र गतिमा आएको परिवर्तनले नेपालका विभिन्न जिललामा सलहको झुण्ड भित्रिएको अनुमान गरेको छ । मौसममा आएको परिवर्तन (खासगरी हावाको दिशा र गतिमा अचानक आएको परिवर्तन) ले सलहको झुण्ड छरिएर आएको हुनसक्ने मन्त्रालयले प्रारम्भिक अनुमान गरेको हो । यस विषयमा जल तथा मौसम विज्ञान विभागसँग पनि निरन्तर समन्वयमा रही कीराको सम्भावित प्रवेशको सम्बन्धमा अनुगमन गरिरहेको मन्त्रालयको भनाइ छ ।
कीरा समूहमा पर्ने यो जीवले कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा बढी क्षति पु¥याउँने गरेको कृषि विज्ञहरु बताउँछन् । दिनमा एउटा कीराले आफ्नो शरीरको तौल बराबर अर्थात् करिब २ ग्राम खान्छ । सलह किरा राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरको आकाशमा देखिएपछि कौशीमा तरकारी लगाएका शहरी कृषकले थाली बजाएर भगाएका थिए । जिल्लामा सलह भगाउन विभिन्न उपायहरु अपनाइएको छ । वीरेन्द्रनगरवासीहरु थाल बजाउने र आगो बाल्ने गरिरहेका छन् । सलहले राजधानी सुर्खेत उपत्यकालाई तीन घण्टा पुरै ढाक्यो । यसको हुल देखेर यहाँका नागरिकहरु आतंकित बने । कतिले दंग खाएर प्रश्न गर्दै थिए, यो करोडौंको संख्यामा सलह कहाँबाट कसरी आयो र कहाँ गएर टुङ्गिन्छ ? कृषि विकास निर्देशनालयले पूर्व जानकारी गरे बमोजिम यहाँका स्थानीय नागरिकहरु थाल, घण्ट बजाउँदै, ढ्याङ्ग्रो ढोक्दै सडक, चौर र घरको छतमा निस्के । बीरेन्द्रनगरका विभिन्न बस्तीका नागरिहरुले आगो बालेर धुवाँ निकाले । दुई/तीन वर्षे बालकदेखि ज्येष्ठ नागरिकहरु बाहिर निस्कँदा सुर्खेत उपत्यकाको दृश्य मेला जस्तै बनेको थियो । धेरै घरका छतहरुमा ठूलो आवाजमा साउण्ड बक्ससमेत खोलिए । तरपनि सलहको झुण्डमा बिग्रह आउन नसकेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत धनबहादुर कठायतले बताए । ‘भारतको राजस्थानबाटै नेपालगञ्ज हुँदै करोडौंको संख्यामा सलह सुर्खेतसँगै जुम्लासम्म पुगेको छ,’ उनले भने, ‘सुर्खेत उपत्यकामा बादल जस्तै गरी ढाकेको यो सलह बेलुका कहाँ बस्छ ? भनेर प्राविधिक टोलीलाई पश्चिम सुर्खेतको बड्डीचौरमा परिचालन गरि सकिएको छ ।’ उनका अनुसार आज कति क्षति गर्छ भनेर प्राविधिक कर्मचारीहरु रिपोर्टिङका लागि फिल्डमा पुगेका छन् । बिहान ६-९ बजेको समयमा यसले बाली खान शुरु गर्ने भएकोले भोलि बिहानको समयमा तयारी हुनका लागि कृषि प्रयोगशालाका प्राविधिकले तयारी गरिरहेको उनले बताए । संख्यात्मक रुपमा बढी सलह कहाँ बस्यो भनेर किसानबाट सूचना लिन र त्यही अनुसार तीव्र गतिमा स्प्रे गर्न सकिने मेसिन तयार गर्न प्राविधिक कर्मचारीहरुलाई मन्त्रालयले निर्देशन दिएको छ । यता करोडौंको संख्यामा भित्रिएको सलहले बाली सखाप हुने चिन्तामा रहेका किसानले कृषि प्राविधिकलाई फोन सम्पर्कबाटै सलहको व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
सलह कीराबाट हुने क्षति र नियन्त्रणका उपाय
किसानका लागि एउटा उमंगको महिना हो ‘साउन’ । मानो रोपेर मुरी फलाउने असारको विदाईसँगै सावनको हरियाली कसलाई पो मन पर्दैन र ? । उसो त हरेक महिनाको आ–आफ्नै विशेषता भएजस्तै साउन महिनाको पनि छुट्टै महत्व र विशेषताहरु रहेका छन् । चारैतिर हरियाली वातावरण, देउराली र भन्ज्याङहरूबाट निस्किएका हुस्सु र कुहिरोको लुकामारी, सिमसिमे पानी, दलदले हिलो किसानका लागि प्रकृतिले दिएको सुन्दर उपहार हो । यसैवीच कोभिड–१९ को जोखिम नियन्त्रण तथा न्यूनीकरणका लागि सरकारले गरेको बन्दाबन्दीको प्रत्यक्ष असर नेपालको कृषिक्षेत्रमा पनि परेको छ । बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका तरकारी तथा कृषि उपजहरुले उचित मूल्य पाउन सकेन । सहज रुपमा बजार पाउन नसक्दा किसानको उत्पादन खेतबारीमा कुहिएर गयो । खेतीपाती लगाउने बेलामा बन्दाबन्दीले थुनिएका किसानहरु लकडाउन खुकुलो भएसँगै सामान्य जीवनमा फर्किरहेको अवस्थामा नेपाली आकाशमा सलह कीराको प्रवेशले किसानलाई फेरि चिन्तित बनायो । सलह कीराको प्रकोप, यसले गर्ने क्षति, सावधानी तथा पूर्वतयारी र रोकथामका लागि किसानहरु चनाखो र सचेत रहन जरुरी छ ।

सलह के हो ?
सलह एक प्रकारको शाकाहारी कीरा हो । यो फट्याङ्ग्रा प्रजाति अन्तर्गत पर्छ । अंग्रेजी भाषामा यसलाई डेजर्ट लोकस्ट भनिन्छ भने यसको वैज्ञानिक नाम सिस्टोसर्स ग्रेगारिया हो । परापूर्वकालदेखि नै सलहको उत्पत्ति भएको पाइन्छ । प्राचीन मिश्रका कब्रका चट्टानहरुमा कुँदिएका चित्रहरु महाभारत, कुरान, बाइबल, इलियड र अन्य ग्रन्थहरुमा समेत सलह कीराका बारेमा उल्लेख गरेको पाइन्छ । सलह कीरा अफ्रिकाबाट सन २००३ मा उत्पति भएको मानिन्छ । यो पुरानो प्रवासी शत्रुजीव हो । यो कीराको बाँच्ने अवधि ३ देखि ५ महिनाको हुने गर्छ । २० देखि ४० दिनसम्मको कीरालाई नियन्त्रण गर्न सजिलो हुन्छ । यो कीरा हरियोबाट पहेंलो रंगमा परिवर्तन हुँदा नियन्त्रण गर्न गाह्रो छ । यो कीरा खास एक्लो बस्ने गर्छ र केही परिस्थितिमा जस्तै मौसम परिवर्तनको समयमा यसको संख्या पर्याप्त हुनुका साथै यसको बानी–व्यवहारमा समेत परिवर्तन भई समूहमा बस्ने गर्छ । यसको नियन्त्रण विश्वभरको खाद्य सुरक्षाका निमित्त अति नै महत्वपूर्ण छ । तसर्थ यो जीवको रोकथाममा सरकारी साथै अन्तर्राष्ट्रिय संघ–संस्थाहरुको समेत संलग्नता आवश्यक देखिन्छ । सलह कृषिक्षेत्रको एक खतरनाक कीरा रहेको पाइन्छ । सलह कीरा किसानहरुको ठूलो शत्रुजीव रहिआएको र कतिपय देशमा जनता र भोकमारीका लागि पर्याप्त खानेकुराको बीचमा निर्धारक रहेको पाइन्छ ।
सलहले के खान्छ ?
सलहले वनस्पति लाग्ने क्षेत्र नोक्सान गर्नुका साथै बालीलाई पनि हानि पु¥याउँछ । यसले आफ्नो तौलबराबरको हरियो वस्तु एकै दिनमा खान सक्छ । युवा अवस्थामा यो उड्न नसके पनि बिरुवामा अघि बढिरहन्छ । दिउँसो यो कीरा २५० किलो मिटर हिड्न सक्छ र रातमा बोटबिरुवाको झाडीमा आराम गर्छ ।
सलहबाट हुने क्षति
हरियो वनस्पति सलह कीराको प्रमुख आहारा हो । वयस्क अवस्थामा लामो दूरीसम्म उड्न सक्ने र बसेको ठाउँमा भेटेजति सबै हरिया बोटबिरुवाहरुको पात र डाँठ खाएर ठूलो क्षति पु¥याउँछ । समूहमा उड्ने सलह कीराले छोटो समयावधिमा हरियो वनस्पतिलाई सखाप पार्न सक्छ । कृषि बालीमा अमेरिकी फौजी कीराले भन्दा पनि धेरै क्षति पु¥याउन सक्ने भएकाले सलह कीराको कर्णाली प्रवेश गरेसँगै किसानहरुको मन चिसो पस्नु स्वाभाविक हो । प्रभावकारीरुपमा सलह कीराको नियन्त्रणमा किसानहरुले केही कुरालाई अवलम्बन गरी अघि बढ्नुपर्ने देखिन्छ । यसको विकास छिटो हुने हुँदा मानिसले खाने खाना बराबरको सेवन गर्न सक्छ भने बिरुवाको पात, फल, फुल, बोक्रा, टुप्पो नष्ट गरी क्षति पु¥याउँछ । झुण्डमा रहेका कारण तौलका कारण रुखहरु समेत ढल्न सक्छ । सलहको मलमूत्रका कारण बोट–बिरुवामा संश्लेषणको कमी हुनुका साथै अन्य समस्या निम्त्याउँछ । कहिलेकाहीं मानिसमा एलर्जि समेत देखिने गर्छ ।
पूर्वतयारी तथा सावधानी
कुनै पनि प्रकोपको संकेत देखिनासाथ त्यसको रोकथामको पूर्वतयारी र सावधानी अपनाउने हो भने पनि सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सकिन्छ । अफ्रिकाबाट सुरुवात भएको सलह कीरा अरेबियन देशहरु हुँदै इरान, अफगानिस्तान, पाकिस्तान, भारत र नेपालमा पनि सलह कीराको प्रकोप हुन सक्ने सम्भावनालाई मध्यनजर गरी यसको प्रकोपसँग जुध्न, रोकथाम तथा नियन्त्रणका लागि सरकारी पक्ष जुट्न आवश्यक छ । सलह कीराले पु¥याउने क्षतिका बारेमा जुनरुपमा प्रचार भएको छ, त्यसले किसानहरुको मनलाई आतंकित पारेको छ । सलह कीराले नेपाल प्रवेश गरे तापनि यसबाट हुने क्षति न्यूनीकरणका लागि बेलैमा सोच्नुपर्ने अवस्था आएको छ । सलह कीराको पहिचान, यसको जीवनचक्र, सलहको प्रकोपबाट हुने क्षति न्यूनीकरण तथा रोकथामका लागि किसानहरु आफैं पनि चनाखो हुनुपर्छ । किसानले सावधानीका उपायहरु अपनाई आफ्नो बालीको सुरक्षण आफैं गर्न बालीको सुरक्षणका लागि आवश्यक ज्ञान हासिल गरी पूर्वतयारीका साथ बस्न जरुरी देखिन्छ ।
क्षति न्यूनीकरणका उपायहरु
नेपालमा आजभन्दा ६ दशकपहिले पनि सलह कीराले आतंक मच्चाएको भनाइ रहेको छ । सलह कीरालाई नियन्त्रण गर्नका लागि मानिसहरुले यस्ता कीराहरू खाने गर्थे । त्यति बेला सलह कीरा नियन्त्रणका लागि सलहले फुल पार्ने स्थानहरु खनजोत गरी तिनीहरुको फूलको वृद्धि र विकासमा अवरोध गर्ने विभिन्न कीटहरु समात्ने यन्त्र जस्तै जाल हालेर समात्ने र खाडलमा पुर्ने, जलाउने जस्ता कार्यहरु गरेको पाइन्छ । कतिपय मानिसले सलह कीरा खाने गरेको समेत बूढापाकाहरुको भनाइ छ । सलहबाट बालीको सुरक्षण तथा सलहको रोकथामका लागि आगो बाल्ने, धूवाँ गराउने, सलहका अण्डालाई खाडल बनाएर पुर्ने, ड्रोन हेलिकप्टरको सहायताले बालीमा कीटनाशकको प्रयोग गर्ने । ठूलो आवाज निकाल्ने यन्त्र प्रयोग गरी भगाउने, जैविक विषादीको प्रयोग गर्ने । यसैगरी लामो घाँस जालको प्रयोग गर्ने । बिरुवाको पातमा पीठो छर्किने गर्नाले पनि सलहको प्रकोपलाई केही हदसम्म नियन्त्रण गर्न सक्छौं । सलहका बारेमा फैलिएको अवाफहभन्दा पनि यथार्थता र रोकथामका उपायहरुका बारेमा कृषि प्राविधिकहरुले किसानलाई बुझाउन सकेमा पनि सम्भावित क्षति न्यूनीकरण गर्न सकिन्छ ।