रानीघाट प्रहरी चौकी भवनको उद्घाटन

स्काई न्यूज /असार ३०, सुर्खेत ।
सुर्खेत सदरमुकाम नजिकै रहेको बराहताल गाउँपालिका–२, रानीघाट प्रहरी चौकीको नवनिर्मित भवन उद्घाटन गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार पन्तले मंगलबार एक औपचारिक कार्यक्रमका वीच रानीघाट प्रहरी चौकीको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । नवनिर्मित चौकी भवनको लागत दुई करोड ४२ लाख रुपैयाँ रहेको छ । यूएनओपीएसको आर्थिक सहयोगमा २०७५ कात्तिक २६ गतेबाट भवन निर्माणको काम शुरु गरिएको थियो ।

नव निर्मित भवनको उद्घाटन गर्दे प्रहरी नायव महानिरीक्षक पन्तले प्रभावकारी अपराध अनुसन्धान एवं नियन्त्रण गरी मानव अधिकारको रक्षामा प्रतिवद्ध भई प्रहरी नागरिक केन्द्रित हुनुपर्ने औल्याए । ‘नागरिक अधिकारको प्रत्याभूतिसँगै शान्ति सुरक्षा एवं अपराध नियन्त्रणमा प्रहरी जनशक्ति क्रियाशील रहने छ,’ उनले भने, ‘प्रविधिले फड्को मारिरहेको अवस्थामा प्रहरीले आफ्ना सेवालाई प्रविधिमैत्री बनाउँदै नागरिकसँगको सहकार्यमा शान्ति सुव्यवस्थाका लागि महत्वपूर्ण भुमिका खेलिनु पर्छ ।’ उनका अनुसार रानीघाट चौकीमा हाल अपुग रहेको दरबन्दीको व्यवस्थापन छिट्टै गरिनेछ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी वरिष्ट उपरीक्षक राजेशनाथ बास्तोलाले सुरक्षाकर्मीका लागि बनेको नवनिर्मित भवनलाई आफ्नै सम्पति सम्झेर आवश्यक मर्मत सम्भारसँगै जगेर्ना गर्ने जिम्मेवारी गाउँपालिका एवं स्थानीय नागरिक समेत रहेको जिकिर गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले समय सापेक्ष जिल्लाभरी रहेका प्रहरी यूनिटलाई आवश्यक स्रोतसाधन र प्रविधि नहुँदा समस्या भएको बताए । ‘जनशक्ति बढाउनु भन्दा पनि प्रविधि बढाउनु पर्ने अहिलेको आवश्यक देखिन्छ,’ उनले भने, ‘तर हामीसँग सवारी साधन, प्रविधि सबै अभाव छ ।’ सिमित स्रोत साधनका बावजुद पनि शान्ति सुरक्षा कायम राख्न प्रहरी दिन रात खटिरहेको उनले बताए । प्रहरीको काम कारवाहीमा साथ दिन उनले स्थानीयलाई समेत आग्रह गरे ।

कार्यक्रममा सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, बराहताल गाउँपालिका–२, का वडा अध्यक्ष युवराज कार्की, यूएनओपीएसका ईन्जिनियर अनुज पाण्डेलगायतले शान्ति सुरक्षा कायम गर्न स्थानीय नागरिक एवं सुरक्षाकर्मी वीचको आपसी सद्भाव महत्वपूर्ण रहने बताएका थिए ।

Translate »