विपद् जोखिम न्यूनीकरणमा गम्भीर बन्न शाहीको निर्देशन

 

स्काई न्यूज / असार ३०,सुर्खेत ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि गम्भीर बन्न सरोकारवाला सबै निकायहरूलाई निर्देशन दिएका छन् । प्रदेश विपद् व्यवस्थापन परिषद्को सोमवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा उनले अबको ३ महीना विपद् प्रतिकार्यमा केन्द्रित हुनु पर्नेमा जोड दिएका हुन् । मुख्यमन्त्री शाहीले विपद्को घटना जानकारी पाउनेबित्तिकै प्रभावकारी रूपमा उद्धारकार्य गर्न निर्देशन दिएका छन् । वर्षायामको शुरूआतसँगै बाढी, पहिरो, डुबान, सडक अवरोधलगायत विपद्का घटनाहरू बढ्ने भन्दै मुख्यमन्त्री शाहीले उच्च सतर्कता र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

उद्धार कार्यका लागि जनपथको नेतृत्वमा हरेक स्थानीय तहमा उद्धार टोली निर्माण गरी सक्रिय बनाउने, उद्धार कार्यका लागि आवश्यक सामग्रीको व्यवस्था मिलाउने, विपद् प्रभावित समुदायका लागि खाद्यान्न, लत्ताकपडा लगायत बन्दोबस्तीका सामग्री व्यवस्थापन गर्न समेत मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् । उद्धार तथा उपचारका लागि यातायात पहुँच भएका क्षेत्रमा एम्बुलेन्स र पहुँच नभएका क्षेत्रका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्ने उनले बताए । पहिरोका कारण सडक अवरुद्ध हुन नदिन निर्देशन गर्दै शाहीले सडक अवरोध हटाउन निश्चित दूरीमा पायक पर्ने गरी स्काभेटर तयारी अवस्थामा राख्नुपर्ने बताए । खाद्यसंकट हुन नदिन तथा आपतकालीन अवस्थाका नागरिकलाई खाद्य आपूर्तीका लागि हरेक जिल्लामा खाद्यान्न भण्डार गर्न पनि निर्देशन दिएका छन् । विपद् प्रतिकार्यमा प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, रेडक्रस, दातृ निकाय लगायतको एकीकृत प्रयास हुनुपर्नेमा उनले जोड दिएका छन् ।

Translate »