गाउँपालिकाद्वारा मगर भाषामा पाठ्यपुस्तक प्रकाशन

स्काई न्यूज /असार २६,सुर्खेत ।
सुर्खेतको चौकुने गाउँपालिकाले स्थानीय मगर भाषामा कक्षा ३ को पाठ्यपुस्तक प्रकाशन गरेको छ । चौकुने–१ का मनबहादुर बगाले मगरद्वारा लिखित उक्त पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । गाउँपालिकाको आर्थिक सहयोगमा यसअघि उनले कक्षा १ र २ का लागि पनि ‘कानूङ ढूट्झ्युल–सोमरा कट्छया’ नामक मगर भाषाको पुस्तक प्रकाशन गरिसकेका छन् । नयाँ पुस्ताले मगर भाषा सजिलैसँग बोल्न र लेख्न सकुन् भन्ने उद्देश्यले पुस्तक तयार गरेको बगालेले बताए । पुस्तकले भाषा लोप हुनबाट जोगाउन तथा आफ्नो संस्कृति र परम्परागत प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्न सहज बनाउने विश्वास गरिएको छ । गाउँपालिकाकी उपाध्यक्ष निर्मला रानामगरले मगर भाषाको पाठ्यपुस्तक निर्माणका लागि वर्षेनी बजेट विनियोजन गर्ने गरेको बताइन् । ‘मगर भाषाको पाठ्यपुस्तकले स्थानीय मगरभाषीको उत्थानमा महत्त्वपूर्ण योगदान मिल्नेछ’, पुस्तक विमोचन गर्दै उपाध्यक्ष रानाले भनिन् । आधारभूत तहको शिक्षा मातृभाषामा दिई दोस्रो भाषी विद्यार्थीको सिकाइ प्रभावकारी बनाउन पाठ्यपुस्तकले सहयोग पुर्‍याउने उनको भनाइ छ ।

Translate »