राजीको उपचारमा सहयोग जुट्दै

स्काई न्यूज / असार २५, सुर्खेत ।

ओष्टेओमाईटिस (हड्डी पाक्ने) रोगबाट ग्रसित भइ जीवन मरणको दोसाँधमा पुगेका सुर्खेतको पन्चपुरी नगरपालिका –१०, चाम्रिका १५ बर्षिय चन्द्र राजीको उपचारमा सहयोग जुट्न थालेको छ । केही दिनदेखि निरन्तर विभिन्न सञ्चार माध्यममा १५ बर्षिय राजीको आर्थिक अवस्था सारै कमजोर भएका समाचारहरु सार्वजनिक भएपछि हड्डी पाक्ने रोगले ग्रस्त राजीको उपचारका लागि आर्थिक सहयोग जुट्दै गएको हो । हाल कर्णाली प्रदेश अस्पतालमा हड्डी पाक्ने रोगका कारण आइसियुमा लडिरहेका राजी जीवन मरणको संघारमा रहेका छन् । यसैवीच सहयोगी हातहरु जुट्दै जाँदा अमेरिमा बस्दै आएकी जयन्ती थापाले आर्थिक सहयोग गरेकी छन् । थापाले आर्थिक अभावका कारण खुट्टाको उपचारमा समस्या भएको जानकारी पाएपछि उनले नगद १० हजार सहयोग गरेकी हुन । दलित बालबालिका, दीनदुःखी, असहाय र विपत्तिमा परेकाहरुलाई सहयोग गर्दै आएकी मनकारी समाजसेवी जयन्ती थापाले विरामी राजीको सिध्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग गरेको नेपाल पत्रकार महासंघ सुर्खेतका उपाध्यक्ष माया थापाले बताईन् ।

यस्तै सहयोगी हातहरु जुट्दै जाँदा वीरेन्द्रनगर–१, निवासी समाजसेवी तथा युवा व्यवसायी राधाकृष्ण ट्रेडर्सका प्रोप्राइटर दिनेश खत्रीले नगद ५ हजार ५ सय ५५ रुपयाँ, त्रिपुरेश्वर माविका पूर्व प्रधानाध्यापक तथा हालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रप्रसाद शर्माले पनि नगद १ हजार ५ रुपयाँ सहयोग गरेका छन् । यसैगरि वीरेन्द्रनगर–१३, निवासी प्रिया एयर कार्गोका प्रोप्राइटर रामबहादुर थापाले पनि नगद ५ हजार आर्थिक सहयोग गर्दै बालक राजीको स्वास्थ्य लाभको कामना गरेका छन् । यसअघि समाजसेवी तथा वीरेन्द्रनगर नगरपालिकाका पूर्व मेयर मुकुन्दश्याम गिरीले नगद १० हजार रुपैयाँ, वीरेन्द्रनगर–६, का युवा व्यवसायी पवन गिरीले नगद ५ हजार र प्रेमकुमार विसीले नगद ५ हजार रुपैयाँ प्रदान गरेका थिए । करिब एक महिना अघिदेखि दुबै खुट्टाको हड्डी पाक्ने रोगबाट ग्रसित १५ बर्षिय राजी तीन हप्तादेखि कर्णाली प्रदेश अस्पतालको आइसियुमा भर्ना भएका छन् । आर्थिक अवस्था ज्यादै दयनिय भएका राजीको उपचारमा प्रदेश अस्पतालले आइसियु खर्च, अप्रेशन खर्च, सामान्य केही औषधी खर्च, खाना खर्च लगायतको व्यवस्थापन निःशुल्क गरेता पनि अन्य औषधी खर्च, रगत व्यवस्थापन लगायत विभिन्न खर्च धान्नका लागि सहयोगको याचना गरिएको राजी शाल्म समाज सुर्खेतका सचिव अशोक राजीले बताए । उनले प्रदेश अस्पताललाई धन्यवाद ज्ञापन गर्दै सहयोगी मनहरुलाई पनि आभार प्रकट गरेका छन् । चन्द्र राजीलाई सहयोगी मनहरुले राष्ट्रिय बाणिज्य बैक सुर्खेतको चल्ती खाता नम्बर ८४६६ सहयोग जम्मा गर्न सकिने पनि राजी शाल्म समाज सुर्खेतले अनुरोध गरेको छ ।

Translate »