कर्णालीको बजेट सर्वसम्मत पारित

स्काई न्यूज/असार २५,सुर्खेत । 
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट पारित भएको छ । प्रदेशसभाको बुधवारको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो । प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते संसद्मा बजेट पेश गरेका थिए । आगामी वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट ल्याएको छ ।यसअघिका छलफलका क्रममा सांसदहरूले उठाएका सवालहरूको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जवाफ दिएसँगै बजेट पारित भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक विकास मन्त्रालय, लोकसेवा आयोग, प्रदेश योजना आयोग, मुख्यन्यायाधिवक्ताको कार्यालयमा विनियोजित बजेटमाथि प्रदेशसभा सदस्यहरूले छलफलका क्रममा उठाएका सवालहरूको बारेमा ध्यानाकर्षण भएको मुख्यमन्त्री शाहीले बताए ।

कर्णालीको विकास र परिवर्तनको मेरुदण्ड मानिएको पूर्वाधार क्षेत्र विगतदेखि नै मुख्य प्राथमिकतामा रहने गरे पनि अहिलेको परिस्थितिलाई ध्यानमा राख्दै करीब ६ अर्ब बजेट मात्र विनियोजन भएको उनको भनाइ थियो ।भौतिक पूर्वाधार मन्त्रालय समेत सम्हाल्दै आएका मुख्यमन्त्री शाहीले अहिले प्रमुख प्राथमिकतामा कोरोना र भोकमरी नियन्त्रण परेको भन्दै चालू आवका अधुरा आयोजनाहरू आगामी आवमा सम्पन्न गर्नेगरी अघि बढाइने बताए । बजेटमा छुटेका योजनालाई पनि कार्यान्वयनमा लैजाने र क्रमागत योजनाहरू आगामी आवमै सम्पन्न गरिने उनको भनाइ छ । पूर्वाधार क्षेत्रका योजना अघि बढिरहेकै क्रममा कोरोनाले समस्या पारेकाले चालू आयोजनाहरू सम्पन्न हुन नसकेको उनले बताए । साउनको दोस्रो सातादेखि नै पूर्वाधारका काम धमाधम अघि बढाइने प्रतिबद्धता समेत उनले व्यक्त गरे । जनता आवास कार्यक्रम अन्तर्गत बजेट कम भएकाले एकीकृत बस्ती निर्माण कार्यक्रममा ढिलाइ भएको र आगामी आवमा १० ओटै जिल्लाको एक÷एक ठाउँमा एकीकृत बस्ती निर्माण गरिने शाहीले बताए ।

Translate »