दैलेखका २ स्थानीय तहमा भैंसी वितरण

गरिव लक्षित वर्ग कार्यक्रम

स्काई न्यूज /असार २४, सुर्खेत ।
दैलेखका २ ओटा स्थानीय तहका अति विपन्न, दलित परिवारलाई भैँसी वितरण गरिएको छ । गुराँस गाउँपालिका र नारायण नगरपालिकाका अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरिएको हो । सांसदहरुको लक्षित वर्ग कार्यक्रम अन्तर्गत दुबै स्थानीय तहमा करिब साढे २ करोड बराबरको अनुदानमा भैँसी वितरण गरिएको छ । विपन्न परिवारको आय आर्जन बृद्धि तथा परिवार पाल्नको लागि सहजता प्रदान होस भन्ने उद्देश्यले भैँसी वितरण गरिएको हो । दैलेख निर्वाचन क्षेत्र नंं.१ (क) बाट निर्वाचित कर्णाली प्रदेश सभा सदस्य धर्मराज रेग्मी र (ख) निर्वाचन क्षेत्रका अर्का प्रदेश सांसद अमरबहादुर थापाले खर्च गर्न पाउने ४०/४० लाख रुपैयाँले अति विपन्न, दलित लक्षित कोष कार्यक्रम अन्तर्गत उन्नत जातका भैँसी स्थानीयलाई वितरण गरिएको छ ।


नारायण नपामा १२० भैँसी वितरण
नारायण नगरपालिकाका १२० जनालाई भैँसी वितरण गरिएको छ । जसमा सांसद अम्मर बहादुर थापाले खर्च गर्न पाउने रकम ४० लाख, नारायण नगरपालिकाको ४० लाख राष्ट्रसेवक बहुउद्देश्यीय सरकारी संस्थाको २० लाख र किसानको १५ लाख, पशु अस्पताल÷पशु सेवा कार्यालयको १ करोड गरी जम्मा दुई करोड १५ लाखमा ती १२० भैँसी खरीद गरिएको थियो,’ नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले भने,’ ‘हामीले विभिन्न वडाका ६४ अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरिएको र बाँकी अन्य वडाका विपन्न परिवारलाई यो हप्ता भित्रै वितरण गर्ने तयारीमा छौंं ।’ नारायण नगरपालिका–३ का ४० परिवार, वडा नम्वर–४ का १०, वडा नम्वर–५ का १०, वडा नम्वर–६ का २०, वडा नम्वर ७ का २० र वडा नम्वर–११ का २० जना गरी १२० जना अति विपन्न दलित परिवारलाई भैँसी वितरण गरिएको नगरपालिकाले बताएको छ ।


गुराँसमा ३३ वटा भैँसी, ३ वटा टनेल
लक्षित वर्ग कार्यक्रम अन्तर्गत गुरास गाउँपालिका–८ का ३३ जनालाई भैँसी वितरण गरिएको छ भने ३ ओटा टनेल निर्माण गरिएको छ । ‘वितरण गरिएका प्रति भैँसीको मुल्य ८०–९० हजार परेको सांसद धर्मराज रेग्मीले बताए । कृषिमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने उद्देश्यले टनेलहरु वितरण गरिएको उनको भनाइ छ । पछिल्लो समय गाउँघरका भैँसी पालन गर्नेको सँख्या दिनानुदिन घट्दो क्रममा छ । यही कुरालाई मध्यनजर गर्दै व्यवसायिक रुपमा भैँसी पालेर आयआर्जन गर्न सक्छन्,’ रेग्मिले भने । केही दिन अघि मात्रै वडा अध्यक्ष पूर्णबहादुर वलीले किसानलाई भैँसी वितरण गरिसकेका छन् ।


दही उत्पादनमा आत्ननिर्भर बन्ने अपेक्षा
प्रदेश सांसद अम्मर बहादुर थापाले भने,’ ‘दैलेख परापूर्वकालदेखि नै ऋृषिमुनिले तपस्या गरेको र दही पाउने जिल्ला भनेर चिनिन्छ । तर, पछिल्लो समय किसानले भैँसी पाल्न नै छाडेका छन् । पुर्न; भैसी पालन व्यवसायलाई प्रवद्र्धनसँगै दहीमा आत्म निर्भर बनाउनका लागि भैँसी वितरण गरिएको हो ।’ उनले भैसी सहयोग कार्यक्रम मार्फत जिल्लामा व्यवसायिक रुपमै भैँसीपालन व्यवसायमा लाग्न पनि सहयोग पुग्ने अपेक्षा राखिएको जनाए । त्यस्तै राष्ट्रसेवक बहुउद्देश्यीय सहकारी संस्था दैलेखका व्यवस्थापक भूपेन्द्र खड्काले जिल्लामा अहिले जातीय छुवाछुत यथावत् रहेकाले दलितले ल्याएको दूध बजारमा विक्री वितरण नहुने समस्यालाई अन्त्य गर्दे भैसी वितरण कार्यक्रम मार्फत जातीय छुवाछुत अन्त्य गर्न सहयोग पुग्ने बताए । उनका अनुसार दूध बिक्रीका लागि अन्य व्यापारी कहाँ विक्री नगरेर सहकारीले निर्माण गरेको दूध प्रशोधन केन्द्रमा ल्याएर बिक्री गर्न सक्ने छन् । ‘हामीले सहकारी मार्फत दूध प्रशोधन गरेर दूध बाट निर्माण हुने विभिन्न परिकारका सामग्री निर्माण गरि सहकारीले विक्री वितरण गर्दै आईरहेको उनको भनाइ छ ।

Translate »