व्यवसायिक गाईपालनबाट लाखौं आम्दानी

 

दिपक शर्मा /असार २३,सल्यान।

नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण सल्यानका एक किसानले पुष्टि गरेको छन् । जिल्लाको कपुरकोट गाउँपालिका वडा नं। ३ कपुरकोटका केशव शर्माले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आइरहेका छन् ।आठ वर्ष पहिले दुई वटा गाईबाट व्यवसाय सुरु गरेका शर्माको फर्ममा अहिले साना ठुला गरी २० वटा गाई रहेका छन् । २ सय गाई पालन गर्ने योजनाका साथ गाई पालन व्यवसाय गरी रहेको शर्माले वार्षिक १ लाख भन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । दैनिक ७० लिटर दुध ५० रुपैया लिटरका हिसावले डेरीले लिने गरेको केशवले बताए । उनले भने ‘बजारको समस्या छैन बजारमा डेरी छ डेरीले जति पनि दुध लैजान्छ ।’कोरोना भाइरसको नियन्त्रण गर्न सरकारले घोषणा गरेको बन्दाबन्दीका कारण केही समस्या भएपनि अहिले सहज भएको उनको भनाई छ । उनले भने ‘बन्दाबन्दी हुनुभन्दा अघि १ सय २० लिटर दुध भएपनि लकडाउन पछि दाना बजारको अभावका कारण दुध घटेको छ ।

’तिन लाखको लगानीवाट गाई पालन ब्यवसाय शुरु गरेको बताउदै केशवकी श्रीमती देवी शर्माले अहिले मासिक एक लाख सम्म आम्दानी हुने गरेको बताइन । उनले भनिन ‘सबै गाईले सधै दुध दिने कुरा भएन कहिले ९/१० वटा दुहुना हुन्छन कहिले ३/४ वटा मात्रै हुन्छन तर पनि गाईपालनबाट राम्रो फाइदा भई रहेको छ ।’ गाईको दाना, तीन जनाको परिवारको खर्च, छोराछोरीको पढाई खर्च सबै कटाएर वार्षिक ५ देखि ६ लाखसम्म बचत हुने गरेको उनको भनाई छ ।गाईलाई आवश्यक पर्ने घाँसका लागि नौ रोपनी जग्गामा विभिन्न जातका घाँसको खेति गरेको देवाले बताइन । बारीमा नेपिएर, स्टाईलो जै घाँस र विभिन्न जातका डाले घाँसको खेती गरिएको छ उनले भनिन । प्रारम्भमा साविकको जिल्ला पशुसेवा कार्यालय सल्यानले सहयोग गरेको उनले बताइन ।विगत केही वर्षयता जिल्लामा व्यवसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन वर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ । 

Translate »