विस्थापित हुने अवस्थामा होटेल व्यवसायी

व्यवसाय जोगाउन सरकारसँग आग्रह

स्काई न्यूज/असार २३,सुर्खेत।
होटेल व्यवसायी महासंघ कर्णाली प्रदेशले कोरोना संक्रमणका कारण तीन महीनादेखि होटेल व्यवसाय बन्द रहँदा विस्थापित हुनु पर्ने अवस्थामा पुगेको बताएको छ । लकडाउनको समयमा होटेलहरू पुर्णरूपमा बन्द भएकाले व्यवसायीले लाखौं घाटा व्यहोर्नु परेको भन्दै महासंघले व्यवसाय र व्यवसायी जोगाउन सरकारसँग आग्रह गरेको छ ।‘व्यवसाय सञ्चालन गर्नका लागि हामीले घर तथा जग्गा धितोमा राखेर बैंकबाट ऋण लिएका छौं’, होटेल व्यवसायी महासंघ कर्णाली प्रदेशका अध्यक्ष तर्कबहादुर शाहीले भने, ‘लकडाउनमा व्यापार नै ठप्प भएपछि अहिले होटेल व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन् ।’ व्यवसाय जोगाउन सरकारले उचित राहत दिनु पर्ने बताउँदै उनले भने, ‘लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्नुपर्ने, न्यून ब्याजदरमा पुनः ऋण उपलब्ध गराउनुपर्ने, घरधनी र व्यवसायलाई मर्का नपर्ने गरी राहत प्याकेज ल्याउनु पर्ने हाम्रो जोडदार माग छ ।

’कर्णालीका ७० प्रतिशत होटेल व्यवसाय भाडाका घरमा सञ्चालित हुँदै आएकाले घरभाडा र बैंकको ब्याज तिर्न नसकेर पलायन हुने अवस्था आएको अध्यक्ष शाहीको भनाइ छ । उनका अनुसार सुर्खेतमा मात्रै १ हजार २५० र कर्णालीमा २ हजार ५०० ओटा भन्दा बढी होटेल व्यवसाय सञ्चालनमा छन् । ति होटेलमा करीब ५ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएको उनको भनाइ छ । बन्दाबन्दीका कारण होटेल व्यवसाय बन्द हुँदा रोजगारी मात्रै गुमेको नभइ अर्बौंको नोक्सानी समेत भएकाले सरकारले आफूहरूलाई सहयोग गर्नु पर्ने होटेल व्यवसायीहरूको भनाइ छ ।होटेल व्यवसाय अरु व्यवसाय जस्तो लकडाउन खुल्नासाथ पहिलेको अवस्थामा नै सुचारु भइ सामान्य अवस्थामा आउने सम्भावना नभएकाले संक्रमण अवधिभर बिजुली तथा पानीको महशुल कम्तीमा १ वर्षका लागि छुट र टेलिफोन, इन्टरनेटलगायत महशुलमा समेत विशेष सहुलियत दिनु पर्ने माग व्यवसायीको छ ।

Translate »