स्वास्थ्य, कृषि र रोजगारी सृजनामा जोड

दैलेखका स्थानीय तहको नीति, कार्यक्रम तथा बजेट

स्काई न्यूज / असार २३,सुर्खेत ।

आगामी आर्थिक वर्ष २०७७ / ७८ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका दैलेखका सबै स्थानीय तहहरूले स्वास्थ्य, कृषि र रोजगारी सृजनालाई जोड दिएका छन् । पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विगतका बजेट आउने गरेको भए पनि यो वर्ष विद्यमान कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा कोरोना प्रभावितका लागि रोजगारी सृजना गर्न कृषिमा केन्द्रित भएर बजेट ल्याएका हुन् । कोरोना महामारीले बढाएको बेरोजगारीको समस्यालाई दृष्टिगत गर्दै यहाँका स्थानीय तहहरूले आफ्नो नीति, कार्यक्रम तथा बजेट ल्याएको बताएका छन् । दैलेखका धेरैजसो स्थानीय तहले बजेटसहितको नीति तथा कार्यक्रम ल्याइसकेका छन् भने केहीले नीति तथा कार्यक्रम मात्र सार्वजिनक गरेका छन् ।

११ ओटा स्थानीय तहमध्ये अधिकांश स्थानीय तहले निर्धारित समय ९ असार १०० मा नै नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् भने ठाटीकाँध र डुंगेश्वर गाउँपालिकाले नीति तथा कार्यक्रम मात्रै ल्याएका छन् । यस्तै नौमुले गाउँपालिका नीति, कार्यक्रम र बजेट ल्याउने तयारीमा छ भने भैरवी गाउँपालिकाले नीति, कार्यक्रम तथा बजेट तयार पार्न समेत सकेको छैन । आठबीस नगरपालिकाले कोरोना महामारी र बेरोजगार युवाहरू गाउँ भित्रिएसँगै उनीहरूलाई स्वरोजगारमुखी वातावरण सृजना गर्ने गरी बजेटसहितको नीति तथा कार्यक्रम ल्याएको बताएको छ । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रू.४६ करोड ४० लाख ७३ हजार ५९० को बजेट ल्याएको छ । युवालाई रोजगारीमा जोड्न तथा कोरोना महामारी र भोकमरीसँग जुध्नका लागि स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिकता दिएको नगरपालिकाको भनाइ छ ।

बेरोजगार युवाहरूलाई लक्षित गर्दै ‘एक घर एक रोजगार’ नारासहित १५० दिनसम्मको रोजगारी दिने कार्यक्रम आठबीस नगरले ल्याइएको छ भने नगरमा हुने हरेक गतिविधिलाई रोजगारी र उत्पादनमा जोड्ने लक्ष्य लिएको छ ।यस्तै रू. ३७ करोड ३७ लाखको बजेट ल्याएको महाबु गाउँपालिकाले ‘अध्यक्ष स्वरोजगार’ कार्यक्रममार्फत रोजगारी सृजना गर्ने लक्ष्य लिएको छ । उक्त कार्यक्रमका लागि पालिकाले रू. १ करोड २० लाख विनियोजन गरेको छ । यस्तै पालिकाभित्रै अस्पताल स्थापना गर्न रू. १ करोड भन्दा धेरै बजेट महाबुले विनियोजन गरेको छ । त्यसैगरी कृषि, रोजगारी सृजना, कोरोना नियन्त्रण, रोकथाम तथा उपचारमा केन्द्रित गर्दै दुल्लू नगरपालिकाले रू.८० करोड ४३ लाख ६६ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाको यो बजेट जिल्लाका सबै स्थानीय तहमध्येमा धेरै हो । यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिकाले रू. ४९ करोड ५० लाख भन्दा धेरैको बजेट प्रस्तुत गरेको छ । विगतको तुलनामा यस वर्ष कृषि र रोजगारमुलक क्षेत्रलाई प्राथमिकता दिँदै उक्त बजेट ल्याएको नगरपालिकाले बताएको छ । युवालाई रोजगारीसँग जोड्न पालिकाले डोजर भन्दा पनि उपभोक्ता समितिमार्फत काम गर्ने योजना अगाडि सारेको छ । त्यसैगरी कृषि, शिक्षा, स्वास्थ्य र रोजगारलाई विशेष प्राथमिकता दिँदै गुराँस गाउँपालिकाले रू. ४६ करोड २९ लाख र नारायण नगरपालिकाले रू. ४९ करोड २० लाख बराबरको बजेट सार्वजनिक गरेका छन् । नीति, कार्यक्रम र बजेट ल्याउन बाँकी नौमुले गाउँपालिकाले रू. ४१ करोड ९६ लाख, डुंगेश्वर गाउँपालिकाले रू. ३२ करोड ५० लाख र भगवतीमाई गाउँपालिकाले रू.४५ करोडसम्मको बजेट ल्याउने तयारी गरेको बताएका छन् । उनीहरूले आगामी बिहीवारसम्ममा बजेट ल्याइसक्ने बताएका छन् ।
भैरवीमा विवाद
यसैबीच जिल्लाको भैरवी गाउँपालिकामा अहिलेसम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनेसम्बन्धी कुनै तयारी भएको छ । नेकपा र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधहरूबीच आपसमा विवाद हुँदा पालिकाको बजेट अन्योलमा परेको हो । राजनीतिक मतभेदकै कारण गत चैत १२ गतेदेखि गाउँसभा बस्न नसकेको गाउँपालिका कार्यालयका लेखापाल गोपाल ओलीले बताए । विवादकै कारण यसअघि खरीद गरिएको कोरोनासम्बन्धी औषधि तथा स्वास्थ्य सामग्रीको रकम फछ्र्योट गर्न नसेको पनि उनको भनाइ छ ।

Translate »