कर्णाली प्रदेशका ८० % संक्रमित निको भए

स्काई न्यूज / असार २०,सुर्खेत ।
कर्णालीमा कोरोना संक्रमित हुनेभन्दा निको भएर घर जानेको संख्यामा वृद्धि भएको छ । शुक्रवार दुई महिलासहित ५१ जना संक्रमित निको भएर घर फर्केसँगै यस प्रदेशका कुल संक्रमितमध्ये ८० प्रतिशत निको भएका छन् ।निको हुनेहरुमा दुल्लु अस्पताल दैलेखका ३१ जना, प्रदेश अस्पतालका १२ जना, सालकोट आईसोलेशन सेन्टरबाट छ जना र ठाँटीकाँध आईसोलेशन सेन्टर दैलेखका दुई जना रहेको कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।शुक्रवार निको हुनेसँगै कर्णालीमा कोरोना उपचार गराएर घर फर्कनेको संख्या १ हजार १७८ पुगेको छ’, महाशाखा प्रमुख डा तिवारीले भने, ‘यसले बाँकी रहेका ३०५ जना संक्रमितको मनोवल बढेको छ ।’

’कर्णालीका संक्रमितमा कोरोना भाइरसको संक्रमण देखिए पनि अहिलेसम्म लक्षण नदेखिएको उनले बताए । दैलेख अस्पतालमा गरिएको आरटीपीसीआर परीक्षणमा नारायण नगरपालिकाका आठ र एक जना डुंगेश्वर गाउँपालिकाका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । १०५ जना स्थानीय संक्रमित भएसँगै कर्णालीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ४८३ जना पुगेको छ । त्यसमध्ये १०५ जना स्थानीय संक्रमित हुन् भने बाँकी सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार स्थानीय संक्रमितमा स्वास्थ्यकर्मी क्वारेन्टाइन र आईसोलेशनमा खटिएका सुरक्षाकर्मी र जनप्रतिनिधि रहेका छन् । अधिकृत कँडेलले भने, ‘२३ जना स्वास्थ्यकर्मी, ५३ जना सुरक्षाकर्मी, तीनजना जनप्रतिनिधि र अन्य १५ जना स्थानीयमा कोरोना संक्रमण देखिएको छ, तीमध्ये धेरैजसो निको भएर फेरि काममा फर्किसकेका छन् ।’कोरोना संक्रमणका कारण कर्णालीमा हालसम्म छ जनाको मृत्यु भएको महाशाखाले बताएको छ ।

Translate »