२ सातामै सकियो १ अर्बभन्दा बढी रकम

कर्णालीमा असारे विकास

स्काई न्युज / असार १९,सुर्खेत ।

कर्णाली प्रदेशमा यस वर्ष पनि असारे विकासको नियति दोहोरिएको छ । असार २ सातामै प्रदेशमा १ अर्ब रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । प्रदेश सरकारले असार १५ दिनमा १ अर्ब ११ करोेड ६३ लाख ६९ हजार ६६८ रुपैयाँ खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी यमुना श्रेष्ठले प्रदेश सरकारले असारयता पूँजीगततर्फ ५८ करोड ४६ लाख ६८ हजार ५११ र चालूतर्फ ५३ करोड १७ लाख १ हजार १५७ रुपैयाँ खर्च गरेको जानकारी दिइन् । सरकारले आर्थिक वर्ष सकिन २ साता मात्र बाँकी रहँदा चालू वर्षको कुल बजेटको २३ दशमलव ५ प्रतिशत बजेट खर्च गरेको छ । प्रदेशले पूँजीगततर्फ १७ दशमलव ११ र चालूतर्फ ३३ दशमलव ९२ प्रतिशत बजेट खर्च गरेको हो ।पहिलो चौमासिकमा १ प्रतिशत मात्र बजेट खर्च गरेको प्रदेश सरकारले दोस्रो चौमासिकमा १० दशमलव ८९ प्रतिशत बजेट खर्च गरेको थियोे । दोस्रो चौमासिकमा चालूतर्फ १६ दशमलव २२ प्रतिशत बजेट खर्च गर्दा पूँजीगततर्फ ७ दशमलव ६३ प्रतिशत बजेट खर्च भएको थियो ।सरकारले गएको चैतसम्म १३ दशमलव ६३ प्रतिशत बजेट खर्च गरेको थियो ।

वैशाखसम्म १५ दशमलव ३९ प्रतिशत खर्च गरेको सरकारले जेठ मसान्तसम्म बजेट खर्च २० प्रतिशत पुर्‍याएको थियो । जेठ मसान्तसम्म पूँजीगततर्फ १४ दशमलव ३७ प्रतिशत खर्च गरेको सरकारले असार १५ गतेसम्म १७ प्रतिशत पुर्याएको छ । जेठ मसान्तसम्म चालूतर्फ २९ दशमलव ८४ प्रतिशत खर्च भएकोमा असार १५ गतेसम्म बजेट खर्च ३३ दशमलव ९२ प्रतिशत पुर्याइएको हो ।आर्थिक वर्ष सकिँदै गर्दा प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रममा ३० करोड र मुख्यमन्त्री दलित महिला आय–आर्जन कार्यक्रममा १० करोड बजेट स्थानीय तहमा पठाएको छ । आर्थिक वर्षको अन्त्यतिर मुख्यमन्त्रीको नाम जोडिएका दुईओटा कार्यक्रमको ४० करोड रुपैयाँ स्थानीय तहमा निकासा गरिएको हो । यद्यपि यसको कार्यान्वयन हुने सम्भावना निकै कम छ ।असार अन्तिममा जथाभावी रकमान्तर गरेर खर्च गर्ने परिपाटीले कर्णालीमा विकासको काम दिगो हुन सकेको छैन । यसले विकास बजेटको दुरुपयोग समेत बढाएको छ । ११ महीनासम्म काम नगर्ने, तर आर्थिक वर्ष सकिनै लाग्दा हतारमा खर्च गर्ने प्रवृत्तिले विकास निर्माणका आयोजना गुणस्तरीय नहुने गरेको गुनासो सधैंजसो आउने गर्छ ।

Translate »