५० प्रतिशत अनुदानमा बोयर जातका बोका वितरण

दुल्लू नगरपालिकाका नगरप्रमुख भण्डारी कृषकहरुलाई बोका वितरण गर्दै

स्काई न्यूज /असार १६, दैलेख ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइ कार्यालय दुल्लूले ५० प्रतिशत अनुदानमा बोयर जातका बोका वितरण गरेको छ । बाख्रापालन गरिरहेका कृषकलाई व्यावसायिकीकरण गर्नका लागि बाख्रा जोन क्षेत्रका कृषकहरुलाई उन्नत जातको बोका वितरण गरिएको हो । यहाँका ४ स्थानीयतहमा बाख्रा जोन कार्यक्रम लागू गरिएको छ । परियोजनाका कृषि विकास अधिकृत राजु भुजले नारायण नगरपलिकाको ४ र १० नम्बर वडा, महाबु गाउँपालिकाको ३,४,५ र ६ नम्बर वडा, भैरवी गाउँपालिकाको ६ र ७ नम्बर वडा र चामुण्डा विन्द्रासैनी नगरपालिकाको १ र ३ नम्बर वडामा बाख्रा जोन लागू गरिएको जानकारी दिए ।


जोन छनौट भएका स्थानहरुबाट माग भएअनुसारका समूह, सहकारी र फर्महरुलाई बोका वितरण गरिएको हो,’ उनले भने । आइतवार दुल्लू नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीद्वारा १५ ओटा बोका कृषकलाई हस्तान्तरण गरिएको हो ।‘भैरवी गाउँपालिकामा १०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा ४ ओटा र महाबु गाउँपालिकामा १ ओटा बोका वितरण गरिएको भुजले बताए । महाबु गाउँपालिका वडा नम्बर ३ बाट १० ओटा र भैरवी गाउँपालिका वडा नम्बर ६ बाट ५ ओटा बोका करीब ५ लाख ७६ हजारमा खरीद गरिएको थियो । सोही बोका कृषकलाई ५० प्रतिशत अनुदानमा हामीले वितरण गरेका हौँ,’ उनले भने । उनका अनुसार रू। ८०० प्रतिकेजिमा दरमा खरीद गरिएको बोकाको मूल्यमा कृषकले रू। ४०० तिरेका छन् । बाख्रा उत्पादन भइरहेको क्षेत्रमा बजारीकरण र उत्पादनमा वृद्धि गर्ने उद्देश्यले उन्नत जातको बोका वितरण गरिएको परियोजनाले बताएको छ । ‘यसै आर्थिक वर्षमा बजारीकरणमा सहज बनाउन गाडी खरीद गर्ने र तीन ओटा संकलन केन्द्र स्थापना गर्ने योजना थियो’ अधिकृत भुजले भने, ‘बन्दाबन्दीको कारण योजना अनुसार काम गर्न पाएनौं । आगामी आर्थिक वर्षमा यसलाई निरन्तरता दिनेछौं ।(आर्थिक अभियान)

Translate »