कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै

एकैदिन २१४ जना डिस्चार्ज

स्काई न्यूज / असार १३, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा शनिबारसम्म ९३४ जना कोरोना जितेर घर फर्केको जानकारी दिए । उनका अनुसार शनिबार नौमुले आइसोलेशन सेन्टर दैलेखबाट–१३२ जना, डुङगेश्वर आइसोलेशन सेन्टर दैलेखबाट–६३ जना, दैलेख अस्पताल-आइसोलेशन सेन्टरबाट–९, जना, ठाँडीकाँध आइसोलेशन सेन्टर दैलेखबाट–१, जना, सालकोट आइसोलेशन सेन्टर सुर्खेतबाट–८ जना र रुकुम पश्चिम अस्पताल रुकुम पश्चिमबाट–१ जना गरि कुल २१४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ९३४ पुगेको हो ।

क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ । कर्णालीमा शनिबारसम्म कोरोना संक्रमितको संख्या १ हजार ४ सय ४० जना पुगेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण केन्द्रमा परीक्षणबाट सुर्खेत पञ्चपुरीका ७ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ६ रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

Translate »