नेपालमा पनि भित्रियो सलह

‘मरुभूमिका जस्ता होइनन्, पानी परिरहेकाले धेरै असर हुँदैन’

स्काई न्यूज असार १३, काठमाडौं ।

नेपालमा पनि सलहको झुण्ड भित्रिएको छ । शनिवार विहान बारा जिल्लाको निजगढ नगरपालिका, रौतहटको उत्तरीभेग तथा सर्लाही जिल्लामा सलहको झुण्ड देखिएको त्यहाँका बासिन्दाले बताएका छन् ।निजगढ नगरपालिकामा शनिवार विहान सलह कीराको झुण्ड देखिएपछि कृषि ज्ञान केन्द्र बाराको टोलिले स्थलगत अध्ययन गरिरहेको बुझिएको छ । भारतसँग सिमाना जोडिएका सर्लाहीको नवलपुर र बाराको निजगढमा सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले नेपालमा पनि सलह भित्रिएको औपचारिक रुपमा पुष्टि गरेको हो । कृषि विभागका सूचना अधिकारी महादेव प्रसाद पौडेलका अनुसार सलहनै भएको पुष्टि भएपनि कुन प्रकारको हो भन्ने बारे अझै पुष्टि भएको छैन ।
मकवानपुरको बकैया हुँदै रौतहट प्रवेश गरेका सलह मकैबारीमा रमाउँदै
निजगढ नगरपालिकाका स्थानीय बासिन्दाले सलहको झुण्डले बालीनाली खाएर सखाप पार्ने बताएपछि केन्द्रको टोलि अध्ययन गर्न आइपुगेको स्थानीय यादवप्रसाद भण्डारीले बताए । निजगढ नगरपालिकामा शनिवार विहान देखिएको सलहउनका अनुसार अधिकांशले यसक्षेत्रमा अधिकांशले हाईव्रिड जातको मकै भित्र्याइसकेता पनि पछिल्लो लटको मकै खेतीमा सलहको झुण्डले क्षति पुर्‍याउने हो कि भन्ने चिन्ता रहेको बताए । निजगढ नगरपालिकाको विभिन्न वडामा चार ओटा झुण्ड बनाएर सलह बसेको स्थानीयले बताएका छन् ।भारतको उत्तर प्रदेशमा जेठको दोश्रो साता सलहको झुण्डले बालीनाली सखाप पारेका थिए । नेपालमा पनि आकस्मिक रुपमा एकाएक सलहको झुण्ड देखापरेपछि कृषि मन्त्रालयले सलहले पुर्‍याउन सक्ने क्षति र यो अवस्थासँग जुध्न के गर्ने भन्ने बारे शनिवार नै छलफल गर्न लागेको बताइएको छ ।

के हो सलह किरा ?
सलह अफ्रीकाको एक स्थानीय फट्याङ्ग्रा प्रजातिको किरा हो । जसको छोटो सिङ हुने गर्दछ । यसले आफ्नो जिवन चक्र सुख्खा क्षेत्र तथा विशेषगरी मरुभुमिको वालुवामा पुरा गर्न सक्दछ । एक वयश्क पोथि सलहले ८० ओटा सम्म अण्डा पार्न सक्दछ भने करीब २ देखि ३ महीनामा वच्चाहरु तयार हुने गर्दछ । वयश्यक भइसकेको सलह ४ देखि ५ महीनासम्म बाँच्ने विज्ञहरुले बताएका छन् । जुन ठाउँमा यसको झुण्ड पुग्छ त्यस आसपासका सम्पुर्ण वनजंगलदेखि बालीनालीहरुका पात, डाँठ र वोक्राहरुमा यसले ठूलो मात्रामा क्षति पु¥याउँदछ । केवल ५ दिनमा १० किलोमिटरको यात्रा तय गर्न सक्ने बताइएको छ । किटविज्ञ समुद्रलाल जोशीका अनुसार सलह किरा बाँच्ने प्रक्रिया दुई चरणको हुने गर्दछ ।

पहिलो चरणमा समुहवाट एक्लै वस्दछ जसले गर्दा यस्तो वेलामा वोटविरुवामा खासै असर गर्दैन तर दास्रो चरणमा भने यो किरा समुहमा वस्ने हुँदा यसवेलामा यसले आफ्ना वरपरका ठूला रुखदेखि बालीनालीमा ठूलो मात्रामा क्षति पुर्‍याउँछ ।अहिले यो किरा यहि दोस्रो चरणमा रहेकाले नै अफ्रिकाहुँदै इरान र पाकिस्तानमा समेत सन्तान उत्पादन गर्दै भारत र नेपालमा भित्रिएको उनको बुझाइ छ ।नेपालमा पनि पश्चिमी भागवाट समुहनै बनाएर आउन सक्ने सम्भावना प्रचुर मात्रामा रहेको उनले बताए । नेपालमा पनि यसले कोशिटप्पुको बालुवामा सन्तान उत्पादन गर्न सक्ने वातावरण रहेको उनले बताए । यसले क्षति पुर्‍याएका रुखहरुमा पुनःपालुवा पलाउन सक्ने न्युन सम्भावना रहेपनि बालीनाली भने नष्ट भएर नै जाने हुन्छ ।

नेपालमा कतिको असर गर्ला ?

सलह नेपालमा प्रवेश गरेसँगै यसले कति असर गर्ला भन्‍ने विषयमा पनि चर्चा हुन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गठन गरेको टास्क फोर्सका संयोजक सहदेव हुमागाईंले अहिले मनसुनको समय भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए । उनले अहिले नेपालमा धान रोप्‍ने समय भएको र अन्नबालीहरु कम भएको उल्लेख गर्दै धेरै क्षति हुन नसक्ने बताए । उनले भने, ‘अहिले धान रोप्‍ने समय छ । धेरैजसो खेतहरु खाली छन् । पानी पनि परिरहेको अवस्था छ । ‘हुमागाईंले धानको बीउहरुमा सलह बसिदियो भने सखाप पार्ने सम्भावना रहेको र तरकारी बाली नष्ट गर्ने सम्भावना भने रहेको बताए । यस्तै कीट विज्ञान महाशाखाका वैज्ञानिक सुदीप उपाध्यायले पनि कृषकहरुलाई नआत्तिन आग्रह गर्दै नजिकैको कृषि कार्यालयमा गएर जानकारी गराउन भनेका छन् । उनले प्रारम्भिक अध्ययनका क्रममा मरुभूमिमा पाइने धेरै खन्चुवा पहेंलो सलह नदेखिएको, मनसुन रहेको र प्रजनन् गर्ने उपयुक्त वातावरण नेपालमा नभएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताए ।

के मनसुनले रोक्ला सलहको प्रकोप ?

नेपालमा मनसुनी प्रभाव भएको र चिसो भएकाले सलहले धेरै क्षति नगर्ने अनुमान कृषि वैज्ञानिकहरुको छ । उपाध्यायले भने, ‘नेपालमा मनसुन सुरु भएकाले अहिले यसको प्रकोप बढ्न सक्‍ने सम्भावना देखिँदैन । यदि कुनै वातावरणीय प्रभावका कारण यिनीहरुले यहाँ अनुकल भए भने मात्रै फैलन सक्छन् । ‘

Translate »