सरकार कोरोना विरुद्धको लडाईमा होम्मिएको छः राज्यमन्त्री रावत

दैलेखमा पीसीआर मेशिनबाट स्वाब परीक्षण शुरु

स्काई न्यूज/ असार १०, सुर्खेत ।
दैलेखमा कोरोना भाइरस जाँच्ने पीसीआर मेशिनबाट स्वाव परीक्षण शुरु भएको छ । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले बुधबार दैलेख सदरमुकाममा स्वाव परीक्षण केन्द्रको उद्घाटन गर्दै विश्व व्यापी महामारीरुपमा फैलिएको कोरोना भाइरस विरुद्धको लडाईमा सबै एकजुट हुन आव्हान गरे । उनले कोरोना विरुद्ध कर्णली प्रदेशमा केन्द्रबाट अधिकतम स्रोत साधनको उपयोग गर्दै आवश्यक प्रभावकारी कदम चालिएको बताए । ‘कोरोना विरुद्धको लडाई कुनै एक पक्ष र स्तरको नभई साझा शत्रु भएकाले सबै सजग र सचेत हुन आवश्यक छ,’ उनले भने, ‘आफ्नो शक्ति र सामाथ्र्यका साथ तीनै तहका सरकार कोरोना भाइरस रोग प्रकोप नियन्त्रण एवं उपचारमा युद्धस्तरमा होम्मिएका छन् । जनताको सहभागिताबाटै युद्धमा विजयी सुनिश्चित हुनेछ ।’ उनले सरकार जनताको स्वास्थ्यप्रति उच्च सम्बेदनशील रहेकाले कर्णालीमा कोरोना रोग प्रकोप नियन्त्रण तथा उपचारमा कुनैपनि प्रकारको कमि हुन नदिने प्रतिबद्धता जनाए । प्रदेशमा आवश्यक औषधि तथा स्रोत साधनको अभावमा कसैले मर्न नपर्ने उनको भनाइ थियो ।


औपचारिक उद्घाटनसँगै गत जेठ ६ गते ल्याईएको उक्त पीसीआर मेशिनबाट विधिवतरुपमै स्वाव परीक्षण शुरु भएको छ । दैलेख १ नंं नम्वर क्षेत्रबाट प्रतिनिधि सभा सांसद रविन्द्रराज शर्माको पहलमा पूर्वाधार विकास कोषबाट एक करोड ६ लाख रुपैयाँ लागतमा उक्त मेशिन जडान गरिएको हो । कर्णाली प्रदेशमै कोरोना भाइरसको उच्च जोखिम दैलेखमा देखिएपछि स्वाव परीक्षण मेशिन जडान गर्नु परेको प्रतिनिधि सभा सांसद शर्माले बताए । उनले जिल्लामा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्न थालेपछि जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै विकास निर्माणका अन्य कामलाई छोडेर भएपनि स्वाव परीक्षण मेशिन सञ्चालन ल्याउनु परेको जिकिर गरे । उनका अनुसार जिल्ला स्तरमा पीसीआर परीक्षण मेशिन जडान भएको दैलेख मात्र एउटा जिल्ला हो । ‘मेशिन सञ्चालनमा आएसँगै अब पीसीआर परीक्षण कार्यलाई तीव्रता दिइने छ,’ उनले भने, ‘महामारीले सन्त्रास फैलाई रहेका बेला सबै पक्ष सचेत र सजगबन्दै कोरोना विरुद्धको लडाई जित्नु पर्ने बेला आएको हो ।’ प्रदेशमा संक्रमणको जोखिम बढेको र परीक्षण गर्ने मेशिन कम भएकाले कोरोना रिपोर्ट ढिलो गरि आउने गरेकाले दैलेखमा मेशिन आवश्यक रहेको उनको भनाइ थियो । केन्द्रिय निर्देशक समितिको निर्णय अनुसार निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट १ हजार किट र पीसीआर मेशिन ल्याइएको उनले जानकारी दिए । मेशिन जडानपछि अब दैनिक एक सयको हाराहारीमा कोरोना परीक्षण हुने अपेक्षा राखिएको छ । जिल्लामा कोरोना जाँच्ने मेशिन जडान भएसँगै अब स्वाब परीक्षणका लागि जुम्ला र सुर्खेत पठाउनुपर्ने वाध्यता टरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

Translate »