दैलेखमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

५०० हेक्टर जमीन आलु पकेटक्षेत्र निर्धारण

स्काई न्यूज /असार ९,दैलेख ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दैलेखका दुई स्थानीय तहका ५०० हेक्टर क्षेत्रफल जमीनमा आलु जोन (पकेटक्षेत्र ) लागू गरेको छ । चालू आर्थिक वर्षबाटै जिल्लाका गुराँस र डुंगेश्वर गाउँपालिकाको उक्त जमीनमा आलु जोन लागू गरिएको हो । डुंगेश्वर गाउँपालिकाको वडाहरू २, ३, ५ र गुराँस गाउँपालिकाको ३, ४, ५, ६, ७ र ८ मा आलु जोन निर्धारण गरिएको हो । दुबै स्थानीय तहका करीब ७५० भन्दा धेरै घरधुरी लाभान्वित हुने गरी आलु जोन विस्तार गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन ईकाइले बताएको छ ।यी ठाउँहरूमा गएको माघ महीनामा जोन सञ्चालक समिति गठन गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । किसान उद्यमी कार्यक्रम सञ्चालनका लागि आलु जोनमा ५३ ओटा किसान समूह/सहकारी सूचीकृत भएका छन् । किसानहरूको मागअनुसार आलुको बीउ, सिँचाइ पोखरी, हाते ट्र्याक्टरलगायत कृषि सेवा तथा औजारहरू ५० प्रतिशत अनुदानमा उपलब्ध गराइएको छ । साथै, त्यस क्षेत्रका जमीनको माटो जाँच पनि गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत राजु भुजले जानकारी दिए । यी क्षेत्रहरूमा पहिल्यैदेखि व्यावसायिक रूपमा आलुखेती गर्ने गरिएकाले यहाँ आलु जोन कार्यक्रम लागू गरिएको उनले बताए ।

‘खासमा हामीले यहाँ उत्पादन हुने आलुमा यान्त्रिकीकरण गरी उत्पादन लागत घटाई उत्पादन वृद्धि र बजारीकरण तथा आलुखेतीबाट आम्दानीमा वृद्धि गराइ किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ आलु जोन लागू गरेका हौं’, भुजले भने । ३ महीना लामो लकडाउनका कारण रस्टिक स्टोर र चिप्स उद्योग स्थापनाका कामहरू गर्न नसकिएको उनले बताए । यी कामहरू सञ्चालनका लागि पनि ५० प्रतिशत अनुदानको व्यवस्थापन गरिएको छ । चालू आर्थिक वर्षमा आलु जोनका लागि रू. १ करोड ७ लाख ५ हजार बराबरको बजेट आएको थियो । जसमा अधिकांश बजेट खर्च नहुने अवस्थामा छ । अधिकृत भुजका अनुसार आगामी आर्थिक वर्षमा स्रोत बीउ आलु उत्पादन केन्द्र, बजारीकरणमा तथा उत्पादन वृद्धिका लागि सहजीकरण, उत्पादन लागत कम गर्नका लागि यान्त्रिकीकरण र चक्लाबन्दीमा आलु उत्पादन कार्यक्रमहरू सञ्चालन गरिने छ । आलु जोन सञ्चालक समितिका अध्यक्ष तथा किसान रवीन्द्र चन्दले परम्परागत खेतीमै रुमलिएका किसानहरूलाई आलु जोनले उत्पादनमा थप उत्साह र आत्मनिर्भर बनाउने अपेक्षा गरिएको बताए । ‘आज भोलि हामीले बीउ वितरण, सिँचाई पोखरी स्थापना र रेखांकनको काम गरिरहेका छौं’, उनले भने, ‘जोत्ने ट्र्याक्टर ल्याउने काम पनि भइरहेको छ ।’ किसानलाई पहिलो चरणमा १४० क्विन्टल आलुको बीउ वितरण गरिसकेको तथा करीब ६०० क्विन्टल बीउ वितरणको लक्ष्य रहेको उनको भनाइ छ ।परियोजनाले जिल्लाको दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा सुन्तला जोन, नारायाण र चामुण्डा बिन्द्रासैनी नगरपालिका तथा महाबु र भैरवी गाउँपालिकामा बाख्रा जोन कार्यक्रम लागू गरेको छ । ( आर्थिक अभियान )

Translate »