सामाजिक दूरी कायम गरी पठनपाठन शुरू

स्काई न्यूज / असार ८,सुर्खेत ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको एक विद्यालयले सामाजिक दूरी कायम गरेर पठनपाठन शुरू गरेको छ । वीरेन्द्रनगर–१२ नेवारेस्थित अमरज्योति नमूना माध्यमिक विद्यालयले सामाजिक दूरी कायम गरेर विद्यालयमा पठनपाठन थालेको हो । ३ महीनापछि विद्यार्थीलाई विद्यालयमै उपस्थित गराएर पढाउन शुरू गरिएको विद्यालयका प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए ।अमरज्योतिले सामाजिक दूरी कायम गरेर परीक्षणका रूपमा पढाइ सञ्चालन गरेको प्रअ थापाले बताए । विद्यालयले शुरूको दिन (आइतवार) कक्षा ७ का २० जना विद्यार्थीलाई स्वास्थ्य सावधानी अपनाएर पढाएको हो । विद्यार्थीको शिक्षण सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पढाउन शुरू गरिएको उनले बताए ।

‘सामाजिक दूरी कायम गरेर पढाउन सकिन्छ कि भनेर पहिलोपटक अभ्यास गरेका हौं,’ उनले भने, ‘सबै विद्यार्थीलाई पालैपालो विद्यालयमा उपस्थित गराएर पढाउने सोचमा छौं । विस्तारै कक्षा ८, ९ र १० को पनि कक्षा सञ्चालनको तयारी गरिएको छ ।’ उनका अनुसार एउटा बेन्चमा एकजना र करीब २ मिटरको दूरी कायम हुनेगरी विद्यार्थी बस्ने व्यवस्था गरिएको छ।विद्यालयले स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएको बताइएको छ । सबै विद्यार्थीलाई मास्क अनिवार्य र प्रवेश गर्दा गेटमै सेनिटाइजर तथा हात धुने व्यवस्था गरिएको छ । विद्यालयले विद्यार्थीलाई भर्चुअल माध्यमबाट पनि शिक्षण सिकाइलाई निरन्तरता दिएको छ ।कोरोना भाइरसका कारण गत चैत ११ देखि देशव्यापी लकडाउन भएपछि बन्द रहेका शैक्षिक संस्था अझै खुलेका छैनन् । असार १ देखि वैकल्पिक सिकाइका लागि रेडियो र टेलिभिजनबाट पढाउन शुरू गरिए पनि प्रभावकारी हुन सकेको छैन ।

Translate »