अन्तर्राष्ट्रिय योग दिवसमा योगासँगै वृक्षारोपण

आइसोलेशनमा बसेका नागरिकलाई च्यवनप्राश

स्काई न्यूज /असार ७, सुर्खेत ।
अन्तर्राष्ट्रिय योग दिवसमा प्रदेश आयुर्वेद औषधालय सुर्खेतले विविध कार्यक्रम गरि मनाएको छ । औषधालयले आईतबार अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर जिल्लाका विभिन्न क्वारेन्टाइनमा रहेका नागरिकसँग योगा अभ्यास, आइसोलेशनमा रहेकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका बहुमूल्य आयुर्वेद औषधि वितरणसँगै जडिबुटी वृक्षारोपण रोपण गरेको हो । औषधालयले नेपाली सेनाले स्थापना गरेको वीरेन्द्रनगर घण्टाघर नजिकै खुल्ला मैदान स्थित क्वारेन्टाइनमा नियमित योग ध्यान, जीवनशैली परिबर्तन र तनाव व्यवस्थापन कार्यक्रम गरेको छ ।

त्यस्तै स्थानीय राम मन्दिरको प्रांगणमा पतन्जली योग समिति सुर्खेत एवंं सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान सुर्खेत शाखाको संयुक्त आयोजनामा औषधालयले प्ले कार्ड प्रर्दशनसहित सामाजिक दुरी कायम गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा आयुर्वेदको भूमिका बारेमा जानकारी दिएको हो । अन्तर्राष्ट्रिय योग दिवस को अवसरमा योगलाई आयुर्वेदसँग जोडेर मानव जीवनको विविध आयामलाई सहज र उपयोगी बनाईनु पर्नेमा प्रदेश आयुर्वेद औषधालयका प्रमुख डाक्टर शंकरप्रसाद रिजालले जोड दिए । उनले अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर सुर्खेत उद्योग वाणिज्य संघको समन्वयमा औषधालयको हाता भित्र विभिन्न जातका औषधिजन्य जडिबुटी बृक्षारोपण गरिएको बताए । औषधालयले दिवसको अवसर पारेर विभिन्न क्वारेन्टाईनमा तनाव व्यवस्थापनका लागि योगा, आइसोलेशनमा रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधि वितरणसँगै विभिन्न जडिबुटी वृक्षारोपन गरिएको उनको भनाइ थियो ।


औषधालय व्यवस्थापन समितिका अध्यक्ष विनोद ढकालले स्थानीय, प्रदेश तथा संघीय सरकारको समन्वयमा आयुर्वेदको महत्व तथा कोरोना रोकथामका लागि औषधालय निरन्तर प्रयासरत रहेको जनाए । उनले तीनै तहका सरकारको समन्वयमा स्थानीय स्तरमा उपलब्ध जडिबुटीको अधिकतम् उपयोग गर्दै प्रशोधन केन्द्र स्थापना गरेर विक्री वितरणका लागि दिर्घकालिन रणनीति बनाएको समेत जानकारी दिए । उनका अनुसार सरकारकै सहयोगमा आयुर्वेद औषधिसँगै योगलाई जोडेर कर्णालीका विभिन्न स्थानीय तहमा रुलर फार्मेसी स्थापना गरिने छ । औषधालयले प्रदेश अस्पताल स्थित कोरोना विशेष अस्पताल आईसोलेशनमा रहेका ६२ जना नागरिकसँगै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई समेत रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेद औषधि वितरण गरिएको कविराज निरीक्षक श्रीराम आचार्यले बताए ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सूर्य प्रकाश माध्यमिक विद्यालय सालकोट आइसोलेशनमा रहेका नागरिकलाई घर फर्कदा अपनाउनु पर्ने स्वास्थ्य सतर्कता एवं तनाव व्यवस्थापन बारेमा जानकारी गराईएको सालकोट प्राथमिक स्वस्थ्य केन्द्र आयुर्वेद तथा वैकल्पिक चिकित्सा शाखा प्रमुख डाक्टर हेमन्त शाहीले जानकारी दिए । उनले अन्तर्राष्ट्रिय योग दिवसको अवसर पारेर मानव जीवनमा आयुर्वेद औषधीको प्रयोग एवं योगको महत्वका बारेमा जानकारी दिने काम भएको बताए । यता औषधालयका बैद्य निरीक्षक दिपेन्द्र कँडेलले आयुर्वेद औषधिको महत्वलाई पछिल्लो समय सर्वसाधारणले समेत आत्मसात गरेकै कारण माग बढ्दै गईरहेको बताए । उनले जनताको मागलाई मध्यनजर गरेर औषधालयले आयुर्वेद औषधि प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका शाखाहरु मार्फत निशुल्क वितरण हुँदै आएको जानकारी दिए ।

योगका फाइदा
– जीवन सन्तुलन बनाइराख्नका लागि योगको मुख्य भूमिका हुन्छ । योगका कारण नै सकारात्मक उर्जा प्राप्त भई उर्जाशील र सही तरिकाले काम गर्ने तागत मिल्छ ।
– शरीर लचकदार हुन्छ ।
– स्वास लिने र फाल्ने योगाभ्यासले इन्रडफिन हर्मोन निकालेर मन शान्त बनाउँछ ।
– ध्यानले मन शान्त र शरीर रिल्याक्स पार्छ । यसले गर्दा मानसिक स्वास्थ्य राम्रो रहन्छ ।
– झडङ्ग रिसाउने मानिस पनि संयमित भई रिसाउने बानी कम हुन्छ ।
– स्लिपिङ क्वालिटी (निद्राको गुणस्तर) राम्रो बनाउँछ । मन आनन्दित भएपछि मस्त निद्रा लाग्छ ।
– शरीररको बनावट राम्रो बनाउँछ ।
– नियमित रुपमा योग गर्दा शरीरको तौल नियन्त्रणमा रहन्छ ।
– रोगप्रतिरोधक क्षमता र स्मरणशक्ति बढाउँछ ।
– ढाड दुख्ने समस्या पनि कम हुन्छ ।
– बिहान सबेरै उठेर योग गर्नु उपयुक्त हुन्छ । नियमित रुपमा ३० मिनेट गर्नुपर्छ । ८ वर्षदेखि माथि जुनसुकै उमेरकाले पनि योग गर्न सकिन्छ ।
– उमेर र रोग अनुसार गरिने योग फरक हुने भएकाले सुरुमा योग गर्दा प्रशिक्षकबाट सिकेर गर्नु प्रभावकारी हुन्छ ।

Translate »