कर्णालीमा कोरोना जितेर घर फर्किनेको संख्या बढ्दै

आज थप १४ जना डिस्चार्ज

स्काई न्यूज /असार ७, सुर्खेत ।
कर्णाली प्रदेशमा कोरोना जितेर घर फर्किनेको संख्या ह्वात्तै बढेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा (आज) आइतबारसम्म ५३१ जना कोरोना जितेर घर फर्केको जानकारी दिए । उनका अनुसार प्रदेश अस्पताल सुर्खेतबाट—३, सल्यान बहुमुखी क्याम्पस आइसोलेशन सेन्टर सल्यानबाट—३ जना, नौमुले आइसोलेशन सेन्टर दैलेखबाट–७ जना र जाजरकोट अस्पताल जाजरकोटबाट–१ जना गरि कुल १४ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेहरुको संख्या ५३१ पुगेको हो । क्वारेन्टिन र आइसोलेशनमा २५ दिन पुगेका र दुई पटकसम्म पिसिआर गरिसकेका नागरिकलाई कुनै पनि लक्षण नदेखिएपछि डाक्टरकै सल्लाहमा घर पठाउने गरिएको छ । कर्णालीमा आइतबारसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय ५६ जना पुगेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सुर्खेतस्थित प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण केन्द्रमा परीक्षणबाट सल्यानका–६ जना, सुर्खेत–२ जना, दैलेखका–२, जना र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालमा परीक्षणबाट–१, जना गरि कुल ११ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म कोभिड–१९ को संक्रमण पुष्टि भएका मध्ये मृत्यु हुनेको संख्या ४ रहेको स्वास्थ्य सेवा महाशाखा कर्णाली प्रदेशले जनाएको छ ।

Translate »