भारतबाट ४४ हजार कर्णालीवासी स्वदेश फर्किए

स्काई न्यूज / असार ७,सुर्खेत ।

कर्णालीका ४४ हजार ६६ जना नागरिक भारतबाट घर फर्किएका छन् । रोजगारीको शिलशिलामा भारत गएका कर्णालीवासी लकडाउनयता मात्रै यति ठूलो संख्यामा प्रदेश भित्रिएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार यसरी भारतबाट फर्किनेमा सबैभन्दा बढी दैलेखका छन् । दैलेखका १४ हजार ४०३ जना भारतबाट फर्किएका हुन् ।यसैगरी दोस्रोमा सुर्खेतका १२ हजार २६ जना फर्किएका छन् । त्यस्तै, कालीकोटका ५ हजार २५७, जाजरकोटका ४ हजार ६२, सल्यानका ३ हजार ३४३, रुकुम–पश्चिमका १ हजार ८५६, मुगुका १ हजार ३९७, जुम्लाका १ हजार ४४७ र हुम्लाका २७५ जना भारतबाट फर्किएका छन् । यो तथ्यांक बुधवारसम्मको हो । जानकारी अनुसार यो अवधिमा डोल्पामा भने भारतबाट फर्किनेको संख्या शून्य छ ।

मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायका अनुसार वैशाख महीनासम्म २ हजार ४०० जना नेपाली बबई नाकाबाट कर्णाली भित्रिएका थिए । जेठ ६ गतेदेखि दैनिक हजारौं मान्छे आउने क्रम चलेपछि जेठ महीनाको २९ गतेसम्म ३८ हजार ७१२ जना नपाल भित्रिएकोमा यो संख्या बढेर बुधवारसम्म ४४ हजार नाघेको उनले बताए ।भारतबाट आएका ४४ हजार नागरिकहरूमध्ये केही मानिस क्वारेन्टिनमा छन् । १ साता अघिसम्म दैनिक ४ हजारको संख्यामा नेपाल भित्रिने गरेका भए पनि अहिले उक्त संख्या घटेर दैनिक औसत १ हजारमा झरेको छ । कर्णाली प्रदेश सरकारले यो अवधिमा १५ हजारदेखि २० हजार नागरिक भित्रिने अनुमान गरेको थियो । तर, अनुमानभन्दा दोब्ब मानिस भित्रिएपछि प्रदेश सरकार र स्थानीय तहहरूलाई व्यवस्थापनमा चुनौती थपिएको छ ।

 

Translate »