राकम कर्णालीमा ‘ट्रमा सेन्टर’का लागि रू. १ करोड ४० लाख

स्काई न्यूज / असार ६,दैलेख ।
दैलेखको राकम कर्णालीमा निर्माण हुने १०० शय्याको अस्पतालका लागि कर्णाली प्रदेश सरकारले रू.१ करोड ४० लाख रकम विनियोजन गरेको छ । सोमवार प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले उक्त रकम विनियोज गरेका हुन् । कर्णाली राजमार्गमा हुँदै आएको सवारी दुर्घटनाका घाइतेले सहज रूपमा तत्काल उपचार पाउन सकुन् भन्ने उद्देश्यअनुसार उक्त बजेट विनियोजन गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गरी राकम कर्णालीमा ट्रमा सेन्टरसहित १०० शय्याको अस्पताल स्थापना गर्ने तयारी छ । कर्णाली राजमार्गमा अत्यधिक दुर्घटना हुने भएकाले कर्णालीको राकममा उक्त अस्पताल निर्माणको अवधारणा ल्याइएको हो । गएको फागुनमा आठबीस नगरपालिका र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच यससम्बन्धी १३ बुँदे सम्झौता भइसकेको छ ।

सम्झौतामा नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्याय र प्रतिष्ठानका निर्देशक धर्मराज गोसाईंले हस्ताक्षर गरेका छन् । दुवै पक्षले सम्बन्ध विस्तारमा सहकार्य गर्ने, प्रदेश र संघीय सरकारसँग समन्वयन गरी अस्पताल निर्माण र सञ्चालन गर्ने र सर्वसुलभ विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यका साथ भएको सम्झौता गरिएको हो । उक्त सम्झौता अनुसार नै संघीय सरकारले पनि आफ्नो नीति तथा कार्यक्रममा यो विषय समेटेको छ । उक्त अस्पताल निर्माण भए अछाम, कालीकोट र दैलेखका जनतालाई स्वास्थ्य सेवाका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ । नगरप्रमुख उपाध्यायका अनुसार अस्पताल निर्माणका लागि यो पटक डीपीआर गर्ने र त्यसपछि लागतको आँकलन गरिने छ । अस्पताल निर्माणका लागि राकममा १०५ रोपनी जग्गा छनोट गरिसकेको उनले बताए । अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले राकममा १ जना एमबीबीएस डाक्टर पठाएको छ भने ल्यावका कर्मचारी, अनमी र अहेवमार्फत स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

Translate »