विद्यालय र स्वास्थ्य संस्थामा सोलार जडान

स्काई न्यूज असार २,सुर्खेत।
कालिकोटका विद्यालय र स्वास्थ्य संस्थामा निःशुल्क सोलार जडान गरिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको संस्थागत सौर्य ऊर्जा अनुदान कार्यक्रम अन्तर्गत सोलार होम्स नेपालले कालिकोटका विभिन्न विद्यालय र स्वास्थ्य संस्थाहरूमा सोलार जडान गरेको हो ।विद्यालय तथा स्वास्थ्य संस्थामा निःशुल्क सोलार जडानका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कालिकोटका सचिवालय सदस्य दिपक चौलागाईंले पहल गरेका हुन् ।  आफुले  विद्यालयमा अध्ययन गर्दा भोगेका समस्या अहिलेका विद्यार्थीले भोग्न नपरोस् भनेर वैकल्पिक ऊर्जा प्रवद्र्धनसँग सहयोग मागेको उनले बताए । बिजुलीको केन्द्रीय प्रसारण लाइन नभएको शुभकालिका गाउँपालिका–२ स्थित कालिका मावि भर्ता, वडा नं. ५ स्थित दाहाल मावि, वडा नंं. ४ स्थित नैनेलदेव आधारभूत विद्यालय र वडा नं. ८ स्थित महादेव आधारभूत विद्यालयमा सोलार जडान गरिएको हो ।

यस्तै पचालझरना गाउँपालिकाको सरस्वती मावि, पञ्चकालिका मावि र नवकिरण आधारभूत विद्यालयमा पनि सोलार जडान गरिएको चौलागाईंले बताए । त्यसैगरी खडाचक्र नगरपालिका–३ स्थित आधारभूत स्वास्थ्य चौकी ताडीमा पनि १ किलोवाट क्षमताको सोलार जडान गरिएको छ । नेकपा पचालझरना गाउँपालिकाका अध्यक्ष पौरख विश्वकर्माको पहलमा सोलार जडान गर्न लागिएको हो । सोलार जडान कार्यमा शुभकालिकाका अध्यक्ष खडानन्द चौलागाईं, पचालझरनाका अध्यक्ष खड्कराज सेजुवाल, सम्बन्धित वडाका वडाध्यक्ष, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकसँग समन्वय गरी सोलार जडान गरिएको नेता चौलागाईंले जानकारी दिए । विद्यार्थी जीवनबाटै राजनीति शुरू गरेका उनले गाउँको विद्यालयमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट ३ वर्षे बालीविज्ञान कक्षासमेत सञ्चालन गरेका छन् ।

 

Translate »