कर्णाली प्रदेश सरकारले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

स्काई न्यूज / असार १, सुर्खेत ।
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/ ७८ का लागि रू.३३ अर्ब ७४ करोड बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले प्रदेशसभाको छैटौं अधिवेशनको १२औं बैठकमा आगामी वर्षका लागि राजस्व र व्ययका वार्षिक अनुमानसहितको उक्त बजेट सोमवार प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेट अनुसार प्रदेश सरकारको आगामी आव २०७७/ ७८ का लागि रू. ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बजेट प्रस्तुत गरिएको छ । जसअनुसार पूँजीगततर्फ रू. १९ अर्ब छ करोड ९१ लाख २१ हजार ९५७५०, चालूतर्फ रू.११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार ९३४५० र वित्तीय हस्तान्तरणतर्फ रू.२ अर्ब ९९ करोड ६५ लाख ९९५० बजेट विनियोजन गरिएको छ ।

चालू खर्चअन्तर्गत कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि रू. ८७ करोड ४१ लाख, रोजगारीका लागि रू. २ अर्ब ५८ करोड २६ लाख र अन्य कार्य तथा प्रशासनिक खर्च रू.८ अर्ब ५१ करोड ९० लाख ३२ हजार रहेको छ । अनुमानित खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट रू. ३० करोड ६ लाख ५३ हजार, चालू आवको खर्च नभई बचत हुने रकम रू. ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रू.७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरणबाट प्राप्त भएको रू.९ अर्ब ६३ करोड २९ लाख र सशर्त अनुदानबाट रू.४ अर्ब ४९ करोड ११ लाख परिचालन गरिने छ । नेपाल सरकारको समपुरक अनुदानवापत् रू. २५ करोड २५ लाख, विशेष अनुदानवापत् रू.४६ करोड प्राप्त हुने अनुमान गरिएको छ । वैदेशिक अनुदान सहायताबाट सञ्चालित हुने कार्यक्रममा रू.१ करोड ७६ लाख १५ हजार स्रोत परिचालन हुने जनाइएको छ । प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ बाट उत्पन्न महामारी, त्यसले सृजना गर्ने सम्भावित भोकमरी र समाधानका लागि स्वास्थ्य, कृषि उत्पादन र रोजगारीलाई केन्द्रविन्दु बनाएर बजेट ल्याएको छ ।

 

Translate »