प्रदेश राजधानी जोड्ने सडक निर्माण सम्पन्न

सडकको स्तरोन्नति गर्न स्थानियको माग

स्काई न्यूज / जेठ २८, सल्यान ।
सल्यानबाट प्रदेश राजधानी सुर्खेत जोड्ने वैकल्पिक सडक निर्माण सम्पन्न भएको छ । यो सँगै अब सिद्ध कुमाख गाउँपालिकाको ढोरचौर उचाल्ने हुँदै सल्ली बजारबाट सुर्खेत सिधा सडक सञ्जालमा जोडिएको हो । कर्णाली प्रदेश सरकारको समपुरक बजेटबाट सडक निर्माण कार्य सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष चित्र बहादुर चलाउनेले बताए । ढोरचौर उचाल्ने खार्वन हुँदै सागिने जोडिने सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको उनको भनाइ छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको विशेष पहलमा करीब रू। ७५ लाख प्रदेश सरकार र बाँकी गाउँपालिकाको गरेर झण्डै रू। २ करोड बढीको लागतमा सडक निर्माण गरिएको हो ।


अब खलंगामा नगएरै सिधै ढोरचौर सल्लीवजार हुँदै सुर्खेत पुग्न सकिने अध्यक्ष चलाउनेले जानकारी दिए । अब सुर्खेत जान समस्या भएन, सडकको नयाँ ट्रयाक खोलिएको छ, ट्याक्टर सहितका साना सवारी साधनहरु चलिरहेका छन् उनले भने यो सडक नै गाउँपालिकाको मुख्य सडक हो । शुरुवात गरिएको तीन वर्ष पछि सडकको ट्रयाक खोल्ने काम सम्पन्न भएको गाउँपालिकाले जानकारी दिएको छ । यस्तै गाउँपालिकाका वडा नम्बर ४ मा पर्ने सागिने पनि पहिलो पटक सडक सञ्जालमा जोडिएकोे छ । आफ्नै वडा भएर प्रदेश राजधानी जोड्ने सडक सञ्चालनमा आएपछि स्थानिय खुसी भएका छन् ।यो सँगै अब सडकको स्तरोन्नतिको लागि सरकारले तत्काल काम शुरु गर्नुपर्ने स्थानियको भनाइ छ । बनगाड खोला, डाँसी खोला लगायतका खोलामा पक्कीपुलसँगै बाह्रै महीना गाडी सञ्चालनका लागि सडक स्तरोन्नतिको काम अगाडी बढाउनु पर्नेमा स्थानियले जोड दिएका छन् ।

Translate »