सुर्खेतमा रगतको माग बढ्यो

स्काई न्यूज / जेठ २८,सुर्खेत ।

सुर्खेतमा विगतको तुलनामा रगतको माग बढेको छ । लकडाउन शुरू हुनभन्दा अघिको तुलनामा पछिल्लो समय रगतको माग उच्च भएको नेपाल रेडक्रस सोसाइटी सुर्खेतले बताएको छ । शाखा सभापति रामलाल आचार्यले लकडाउन भएयता रगतको माग बढी भएको बताए । उनका अनुसार लकडाउन अघिसम्म सुर्खेतमा मासिक ८० देखि ९० पिन्टसम्म रगत खपत हुने गरेको थियो । तर, अहिले मासिक १३० पिन्टसम्म खपत हुने गरेको छ । यद्यपि, रगतको अभाव हुन नदिइएको उनको भनाइ छ ।कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेको मंगलवार ७७ दिन पूरा भएको छ ।

यस अवधिमा उपचारका लागि जिल्लाबाहिर लैजानुपर्ने कतिपय बिरामीहरूको समेत सुर्खेतमै उपचार भइरहेका कारण रगतको माग बढी भएको हो । रगतको माग बढी भए पनि अभाव हुन नदिएको आचार्यको भनाइ छ । विशेषगरी दीर्घरोगी र तत्काल शल्यक्रिया (अप्रेशन) गर्नुपर्ने बिरामीहरूका लागि रगत आवश्यक हुन्छ । सुर्खेतमा रेडक्रसका स्वयंसेवक, जेसीज, लायन्स क्लबलगायत विभिन्न सामाजिक संघ–संस्था र व्यक्तिहरूबाट रगत संकलन गर्ने गरिएको छ । ‘अहिले रगत नपाएर बिरामीलाई उपचारमा समस्या हुने अवस्था छैन’, सभापति आचार्यले भने, ‘रेडक्रसले सुर्खेतमा ब्लड बैंक नै सञ्चालन गरिरहेको छ । ’लकडाउनका समयमा रगतको कमी हुन नदिन बेला–बेलामा सामाजिक दूरी कायम गरेर रक्तदान कार्यक्रम गर्दै आएको पनि उनले जानकारी दिए ।

Translate »