भारतको सहयोगमा ५६ ओटा विद्यालय भवन निर्माण सम्झौता

स्काई नयूज / जेठ २७, काठमाडौं ।
भूकम्प प्रभावित विभिन्न जिल्लाका ५६ ओटा माध्यमिक विद्यालयको भवन निर्माणमा प्राप्त हुने भारतीय सहयोग कार्यान्वयनका लागि सम्झौता भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा) र काठमाडौंस्थित भारतीय दूतावासबीच सो सम्झौतामा सोमवार हस्ताक्षर भएको हो । सम्झौतानुसार गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोकमा ५६ ओटा माध्यमिक विद्यालयको पुनर्निर्माण हुनेछ ।  नेपालमा भूकम्पपश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको रू।२ अर्ब ९५ करोड आर्थिक सहयोगमा यी विद्यालयको पुनर्निर्माण गरिनेछ ।

भूकम्प प्रतिरोधी क्षमताका लागि यी विद्यालय नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनर्निर्माण हुनेछन् । विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ । भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयको पुनर्निर्माणका लागि प्राविधिक सहयोग प्रदान गर्नेछ । भूकम्पपश्चातको पुनर्निर्माण परियोजनालगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायसँगको सहकार्यलाई निरन्तरता दिन भारत सरकार प्रतिबद्घ रहेको भारतीय दूतावासले बताएको छ  ।

Translate »