रोग प्रतिरोधात्मक क्षमता बढाउन कर्णालीमा गुर्जोको माग बढ्यो

स्काई न्यूज/जेठ २३,सुर्खेत ।

शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन कर्णालीमा गुर्जोको प्रयोग गर्नेहरूको संख्या बढेको छ । शरीरको प्रतिरोधी क्षमता बढ्ने र भाइरस संक्रमणजन्य रोगबाट बच्न सकिने भएकाले कर्णालीका सुर्खेत लगायत जिल्लामा यसको सेवन गर्नेहरू बढेको प्रदेश आयुर्वेद औषधालय, सुर्खेतका चिकित्सक डा. शंकरप्रसाद रिजालले  बताए  । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै गुर्जोको माग पनि बढेको उनको भनाइ छ । गाउँघरमा रुघाखोकी, ज्वरो आउँदा औषधिको रूपमा प्रयोेग हुँदै आएको गुर्जोले रोग प्रतिराधात्मक क्षमता बढाउने भएकाले मानिसले यसको सेवनलाई प्राथमिकता दिएका हुन् । लकडाउन अवधिमा औषधालयबाट मात्र १ हजारभन्दा बढीले गुर्जो लगेको प्रदेश आयुर्वेद औषधालयले बताएको छ । ‘औषधालयमै आएर गुर्जोको लहरा लिन आउनेहरू पनि उत्तिकै छन्,’ उनले भने, ‘यसबाहेक गाउँघरतिर उपलब्ध गुर्जो प्रयोग गर्ने र यसलाई सेवन गर्ने तरीकाबारे सोध्नेहरू पनि बढेका छन् ।’ उनका अनुसार गुर्जोको धूलो तातोपानी वा महमा मिसाएर, क्याप्सुल बनाएर तथा लहराको रस बनाएर पनि सेवन गर्न सकिन्छ । गुर्जो कर्णाली प्रदेशका सबैजसो जंगलमा पाइने र जुनसुकै बिरामीले खादा पनि असर नगर्ने  उनले वताए । वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा बसेका, पूर्व सावधानी गृहमा बसेका तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीलाई गुर्जो उपलब्ध गराइएको औषधालयले बताएको छ । औषधालयले अन्य क्वारेन्टाइनमा पनि गुर्जो वितरण गर्ने तयारी गरेको छ । औषधालयले रोग संक्रमण प्रतिरोधात्मक क्षमता बढाउन गुर्जो प्रयोग गर्न सार्वजनिक सूचनासमेत जारी गरेको डा. रिजालले जानकारी दिए । लकडाउनका कारण टाढाबाट सेवाग्राही आउने अवस्था नभए पनि गुर्जो प्रयोगकर्ता बढिरहेको उनको भनाइ छ । उनका  अनुसार गुर्जो लिन औषधालयमा दैनिक ३०–३५ जना आउने गरेका छन् ।

Translate »