नेपाल फार्मेसी संघद्वारा सर्जिकल मास्क र साबुन सहयोग

स्काई न्यूज /जेठ २२, सुर्खेत ।
नेपाल फार्मेसी संघ कर्णाली प्रदेशले बिश्वव्यापी स्वास्थ्य समस्याको रुपमा देखिएको कोरोना भाईरस (कोभिड–१९) को जोखिमका वावजुद कार्यक्षेत्रमा खटिएका स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । बिहीवार संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश ईन्चार्ज सुन्दर आचार्य, सुर्खेत जिल्ला उपाध्यक्ष सविता अधिकारी, सह–सचिव दिपेन कोइराला, कोषाध्यक्ष विश्व क्षेत्री, सदस्यहरु खेमराज खनाल, बालकृष्ण बुढा, शशी थापा, ललित सुनार तथा विजय घलेलगायतले जन स्वास्थ्य सेवा कार्यालय, वीरेन्द्रनगर नगरपालिका–२, उत्तरगंगा स्वास्थ्य चौकीसँगै कटकुवा स्वास्थ्य चौकीलाई सर्जिकल मास्क र हात धुने सावुन सहयोग गरेका छन् ।

संघले जन स्वास्थ्य सेवा कार्यालयलाई २०० सर्जिकल मास्क र १० पीस हात धुने सावुन सहयोग गरेको हो । संघका केन्द्रीय सदस्य आचार्यले जोखिमका बावजुद जिल्ला तथा सदरमुकाम वीरेन्द्रनगर नगरक्षेत्रमा खटिने स्वास्थ्यकर्मीलाई स्वास्थ्य जोखिम न्यूनीकरणमा टेवा पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको बताए । ‘सस्तो लोकप्रियताका निम्ति होइन, चर्चा पाउकालागि पनि होइन, यस्तो संकटमा अर्थपूर्ण सहयोग र सहकार्य आवश्यक देखेका छौं,’ उनले भने, ‘सहयोग अभियानलाई निरन्तर अघि बढाउँदै जिल्लाका सबै स्थानीय तहसँगै प्रदेशका दशै जिल्लासम्म पु¥याउने लक्ष्य राखेका छौं ।’ उनले नितान्त व्यक्तिगत पकेट खर्च कटाएर समुदायलाई सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न लागिएको जिकिर गरे ।

उनका अनुसार संघले दाताहरुसँग सहयोग जुटाएर कर्णालीका स्वास्थ्य संस्था एवं स्वास्थ्यकर्मी, बृद्धाआश्रम, मानव सेवा धर्म समितिलगायतका संघ संस्थालाई समेत सहयोग निरन्तर गरिने छ । यता कोरोना भाइरसको संक्रमणबाट जोगिन जनचेतना जगाउने उद्धेश्यले यस्तो सहयोग फार्मेसी संघले गरेको प्रति जन स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले धन्यवाद व्यक्त गरे ।

Translate »