नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुग्यो

स्काई न्यूज /जेठ १९, काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १८ सय ११ पुगेको छ । सोमबार दुई बालबालिकासहित १३ जना कोरोना संक्रमित थपिएका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा सोमबार गरिएको परीक्षणमा १३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । उनका अनुसार संक्रमित हुनेमा नवलपरासी सरावल गाउँपालिकाका ६ वर्षीय बालक, गडहवा गाउँपालिका रुपन्देहीका ३ वर्षीया बालिका, ५४ वर्षीय पुरुष, मायादेवी गाउँपालिका कपिलवस्तुका ७ पुरुष (१९ देखि ४० वर्ष), निस्दी गाउँपालिका पाल्पाका २ पुरुष (१७ देखि ३६ वर्ष) र गुल्मी रेसुंगा नगरपालिकाका २६ वर्षीय पुरुष रहेका छन् । थप १३ जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितसंक्रमितको संख्या १८ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैवीच कर्णालीमा कोरोना संक्रमितको संख्या २ सय ३३ पुगेको छ । विहान ११ बजेसम्म सङ्क्रमितको संख्या १९८ थियो । सामाजिक विकास मन्त्रालयका अनुसार सुर्खेतमा १६, दैलेख र सल्यानमा समान ९/९ जनामा कोरोना पुष्टि भएको छ । सुर्खेतमा थप भएकामध्ये लेकबेसी नगरपालिकाका १२ जना, भेरीगंगा नगरपालिकाका ३ र पञ्चपुरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । दैलेखमा नारायण नगरपालिकाका सात, चामुण्डा विन्द्रासैनी नगरपालिकाका १/ १ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीका अनुसार सल्यानको बनगाड कुभिण्डे नगरपालिकाका ९ जनामा पुष्टि भएको छ । यस्तै अछामका एक जनामा पुष्टि भएको छ । यो सहित दैलेखमा सबैभन्दा धेरै ९८ जनामा कोरोना पुष्टि भएको छ । त्यसपछि सुर्खेतमा ५०, सल्यानमा ४४ पुगेको छ । जुम्लामा १९ जना, कालीकोटमा १८ जना, मुगुमा १ जना र सुर्खेतमा गरिएको परीक्षणमा बाजुरा, बझाङ र अछामका १/१ जनामा कोरोना पुष्टि भएको छ । जुम्लाका २ जना प्रहरीमा पनि कोरोना पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत दुई जना प्रहरीमा संक्रमण देखिएसँगै कोरोना समुदायमा पुगेको छ । कोरोनाबाट कर्णालीमा हालसम्म १ जनाको मृत्यु भएको छ ।

Translate »