नेपालमा संक्रमितको संख्या १ हजार ४०१ पुग्यो

स्काई न्यूज /जेठ १७, काठकाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए । नयाँ संक्रमित हुनेमा कपिलवस्तु १०९, सर्लाही १७, दैलेखका १४, सिरहा ११, सप्तरीका ९, धनुषा ७, रौतहट ६,  दाङ ५, महोत्तरी ४, पर्सा २, संखुवासभा २, झापा १, ललितपुर १ एवं  बारा १ जना रहेका छन् । संक्रमितमध्ये हालसम्म २१९ जना निको भएर घर फर्किइसकेका छन् । पछिल्लो २४ घण्टामा १३ जना डिस्चार्ज भएका हुन् । बुढानिलकण्ठ र टोखाका २ जना टेकु अस्पतालबाट, ९ जना बलम्बु अस्पतालबाट, अछामका १ जना, रुकुमका १ जना डिस्चार्ज भएका हुन् ।


हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक अर्घाखाँचीका एक र दैलेखका एक गरी ७ जनाको मृत्यु भएको छ । क्‍वारेन्टाइनमा रहनेको संख्या १ लाख १० हजार ८८ जना रहेका छन् । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार १ सय ७६ जना रहेको छ । मन्त्रालयका अनुसार शनिबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ७ हजार ५५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६६ हजार ७ सय २९ परीक्षणहरु गरिएका छन् ।

 

Translate »