रेडियो नेपालको मुगु स्थित रिले स्टेशन सुचारु

स्काई न्यूज /जेठ ११, सुर्खेत ।
मुगुको छायानाथ रारा नगरपालिका स्थित रेडियो नेपालको ‘मुर्मा टप’ रिले स्टेशन मर्मतपछि प्रसारण सुचारु भएको छ । गत बैशाख १५ गते चट्याङग लागेर अवरुद्ध एफएम १०० मेगाहर्ज आइतबार मर्मतपछि पुनःप्रसारण सुचारु भएको हो । चट्याङगले क्षतिग्रत ५ सय वाटको रिले स्टेशनको सोलार सिस्टमसँगै भी–स्याट, डीटीएच, सिन्गलको मर्मतपछि आइतबार दिउँसो ४ बजेदेखि पुनः प्रसारण शुरु भएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिए । उनले पहाडी क्षेत्रमा सोलार एवं जेनेरेटरबाट रेडियो रिले स्टेशन सञ्चालन गर्दा प्रायः प्राविधिक समस्या आईरहने गरेको जनाए । उनका अनुसार नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रमा सोलार एवं जेनेरेटरबाट रेडियो रिले स्टेशन सञ्चालन गर्नुपर्ने बाध्यता रहेको छ । उता रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतबाट रिले स्टेशन मर्मतका लागि मुगुको ‘मुर्मा टप’ पुगेका वरिष्ठ प्राविधिक सहायक बालमुकुन्द आचार्यले दुई दिनको अथक प्रयासबाट चट्याङगले क्षतिग्रत रिले स्टेशन पुनःसुचारु गर्न सफल भएको बताए । त्यस्तै ‘मुर्मा टप’ रिले स्टेशनका ट्रान्समिटर सञ्चालक गोरखबहादुर रोकायले चट्याङगले अवरुद्ध रिले स्टेशन सुचारु भएसँगै आसपासका सर्वसाधारणले खुशी व्यक्त गरेको जनाए ।

Translate »