सञ्चय कोषले अनलाइनमार्फत विशेष सापटी सेवा शुरु गर्दै

जेठ १०, काठमाडौं ।
कर्मचारी सञ्चय कोषले कोरोना भाइरसका कारण सरकारले लागू गरेको लकडाउनसँगै बन्द रहेका कोषका सेवामध्ये हाललाई विशेष सापटी सेवा अनलाइनमार्फत लिन सकिने गरी सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण गत चैत ११ गतेदेखि सरकारले लकडाउन लागू गरेसँगै कोषका सेवा बन्द गरिँदै आए पनि आइतवारदेखि अनलाइनमार्फत विशेष सापटी सेवा सञ्चालन गर्ने तयारी गरिएको कोषले विज्ञप्तिमार्फत जनाकारी दिएको छ ।‘ लकडाउनका कारण यातायात र हिंडडुलमा भएको असहज अवस्थालाई मध्यनजर गर्दै घर तथा कार्यालयमै बसेर सरल, सहज र प्रभावकारीरूपमा सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप अनलाइन विशेष सापटी सेवा शुरु गरिएको हो’, विज्ञप्तीमा भनिएको छ ।

हाललाई यो सेवा विशेष सापटी लिन योग्यता पुगेका र केवाइसी अपडेट गरेका सञ्चयकर्ताले प्राप्त गर्न सक्नेछन् । त्यसका लागि सञ्चयकर्ताले कोषको वेबसाइटमा गई प्राप्त निर्देशनअनुसार अनलाइन फाराम भरी सोसँगै विशेष सापटीको आवेदन फाराम भरी स्क्यान कपी अपलोड गरेर पठाउनुपर्ने हुन्छ ।  कोषले उक्त आवेदन फारामलाई रुजु गर्छ र सो गरिसकेपछि सम्बन्धित सञ्चयकर्ताको बैंक खातामै रकम जम्मा गरिदिनेछ । कोषले कोभिड–१९ का कारण हाल बन्द रहेका अन्य सेवासमेत क्रमशः सञ्चालनको तयारीसमेत पूरा गरेको छ । लकडाउन खुकुलो हुने बित्तिकै कोषका कार्यालयमार्फत सुरक्षितरूपमा कोषका अन्य सेवाप्रवाह हुने गरी तयारी गरिएको कोषले बताएको छ ।

Translate »