१० महीनामा कर्णाली प्रदेशको बजेट खर्च १५ प्रतिशत मात्र

जेठ ५ सुर्खेत ।

कर्णाली प्रदेश सरकारले चालू आर्थिक वर्षको दश महीनामा १५ प्रतिशत बजेट खर्च गरेको छ । गतवर्ष ३५ प्रतिशतको हाराहारीमा बजेट खर्चिएको कर्णाली प्रदेश सरकारको चालू आर्थिक वर्षमा पनि कम खर्च हुने देखिएको छ । सरकारले रू. ३४ अर्ब ३५ करोड ३४ लाख २५ हजार बजेट विनियोजन गरेको थियो । जसमध्ये रू. पाँच अर्ब २८ करोड ६१ लाख ८९ हजार ४७९ खर्च गरेको छ । पूँजीगततर्फ रू. दुई अर्ब २५ करोड ५४ लाख ८ हजार ८३३ र चालूतर्फ रू. तीन अर्ब ३० करोड ७८ लाख ६ ४६ खर्च भएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म पूूँजीगततर्फ १० दशमलव ५९ र चालूतर्फ २३ दशमलव २१ प्रतिशत बजेट खर्च भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले ४१ दशमलव ६५ प्रतिशत, सामाजिक विकास मन्त्रालयले २९ दशमलव १८ प्रतिशत, भौतिक पूूर्वाधार विकास मन्त्रालयले १४ दशमलव ५० प्रतिशत र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १५ प्रतिशत बजेट खर्च गरेका छन् ।प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको १७ दशमलव १७ प्रतिशत, आर्थिक मामिला तथा योजना मन्त्रालयको शून्य दशमलव ८१ प्रतिशत र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ३ दशमलव १५ प्रतिशत बजेट खर्च भएको छ ।

यो वर्ष कोरोना प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा केन्द्रित हुनुपर्दा बजेट खर्च बढाउन नसकिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।पहिलो चौमासमा १ दशमलव ६१ प्रतिशत र दोस्रो चौमासमा १० दशमलव ८ प्रतिशत बजेट खर्च भएको थियो । अन्तिम चौमाससम्म खर्च ६० प्रतिशत पुर्‍याउने लक्ष्य लिइएको छ । चालू आव सकिनै लाग्दासम्म न्यून बजेट मात्रै खर्च गरेको सरकारले बाँकी दुई महीनामा लक्ष्यअनुसार खर्च गर्ने सम्भावना न्यून छ । कर्णालीमा लकडाउनका कारण विगत दुई महीनादेखि विकास निर्माणका काम ठप्प छन् ।

Translate »