लकडाउनले खाद्यान्नको आयात बढ्दो

जेठ २,काठमाडौं ।

लकडाउन शुरू भएपछिका सात हप्तामा खाद्यान्नको आयात बढेको छ । उद्योग मन्त्रालयले हालै प्रकाशित गरेको एक प्रतिवेदनले खाद्यान्नको आयात पछिल्ला सात हप्तामा ह्वात्तै बढेको देखाएको हो ।

लकडाउन शुरू भएको पहिलो हप्ता चैत ११ देखि १७ गते सम्म १३ हजार ३ सय ४३ टन खाद्यान्नको आयात भएकोमा दोस्रो हप्तामा यो परिमाण बढेर १४ हजार ६ सय ४३ टन पुगेको छ । यो परिमाण बढ्दै पाँचौं हप्तामा आइपुग्दा ३१ हजार ४ सय ४१ टन पुगेको छ । छैटौं र सातौं हप्तामा भने आयात केही खस्किँदै क्रमशः २८ हजार ५ सय २६ टन र २५ हजार ८ सय ५ टन पुगेको छ ।

लकडाउनको समयमा आयात बढ्नुलाई सामान्य रूपमा नै लिनुुपर्ने आपूर्ति विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताए । लकडाउनको समयमा पनि आयातनिर्यात प्रभावित नभएकाले र बजारमा भएका सामानहरूको स्टक पनि घट्दै गएकाले आयात बढ्नु स्वाभाविक रहेको उनको भनाइ छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराको धारणा पनि त्यस्तै छ । उनका अनुसार उपभोक्ताहरूले खाद्य संकट हुनसक्ने आंकलन गरेर आवश्यकभन्दा बढी स्टक राख्दा आयात बढेको हो । ‘राहतका कार्यक्रमहरू पनि यति बेला बढेकाले आयातको परिमाण बढेको हो,’ उनले भने ।

पहिलो हप्ताको तुलनामा सातौं हप्तामा खाद्यान्नको आयात ९३ दशमलव ४ प्रतिशत र दलहन गेडागुडीको आयात २६ दशमलव २ प्रतिशतले बढेको छ । तरकारी र फलफूलको आयात क्रमशः २५ प्रतिशत र ६१ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ । सोही अवधिमा दुग्धजन्य पदार्थको आयात ५ १४ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

खाद्यान्न मौज्दातको अवस्था
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग हाल १७ हजार ४ सय ८ टन चामल, ६ सय ८ क्वीन्टल फापर, ५ सय २८ क्वीन्टल कर्णालीको सिमी, १९ टन दाल र शून्य दशमलव ४९ लिटर घ्यू मौज्दात छ । कम्पनीले विपद्को समयमा चामलको मौज्दात घट्न नदिन हालै १० हजार टन चामल किन्न टेन्डर आह्वान गरेको छ ।

कम्पनीले चालू आर्थिक वर्षका लागि बर्दियाको राजापुरमा १ हजार, कैलालीको टीकापुर र धनगढीमा १ हजार, भैरहवा र नेपालगञ्जबाट १ हजार टन गरी ३ हजार टन गहुँ किन्न लागेको विभागका महानिर्देशक सुवेदीले जानकारी दिए । उनका अनुसार हालसम्म करीब ५ सय टन गहुँ किनिसकिएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनसँग करीब २२ सय ८५ टन चिनी र आयात प्रक्रियामा रहेको समेत गरेर १ लाख ३७ हजार ४ सय १८ टन नुन मौज्दात रहेको छ ।

निजीक्षेत्रका उद्योगीव्यापारीहरूसँग करीब १ लाख २ हजार ५ सय टन चामल, ९८ हजार ५४ टन धान मौज्दात रहेको छ । यसरी मौज्दात रहेको धानलाई चामल बनाउन कुनै समस्या नभएको सरकारले बताए तापनि उद्योगीहरू भने यो कुरा मान्न तयार छैनन् । यति बेला कुनै पनि उद्योगहरू पूर्ण क्षमतामा चल्न नसकेको र मजदूर व्यवस्थापन गर्न नसिकएकाले उत्पादनमा समस्या भएको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य बोहराले बताए ।

दलहन वस्तुको मौज्दात १६ हजार ८१ टन, पाम आयल करीब ४ सय ८७ टन, पामोलिन आयल करीब १९ हजार टन, सोयाबिन तेल १६ हजार टन, सूर्यमुखी तेल ८ यस ४६ टन मौज्दात रहेको छ । करीब ६ हजार ३ सय ४६ टन तेल आयातको क्रममा रहेको र ७० हजार ८ सय ६६ टन तेल कोलकोतामा मौज्दात रहेको बताइएको छ । निजीक्षेत्रका उद्योगहरूसँग करीब ६३ हजार २ सय टन चिनी मौज्दात रहेको छ ।

 

Translate »