वीरेन्द्रनगर क्वारेन्टाइन किचेनको अनुगमन

स्काई न्यूज/ बैशाख २६, सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगर स्थित क्वारेन्टाइनमा बसेकालाई गुणस्तरहिन खाना खुवाउने गरेको गुनासो आएपछि जिल्ला संयुक्त अनुगमन समितिले अनुगमन गरेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको संयोजनमा निर्माण गरेको क्वारेन्टाईनमा बसेकाहरुले गुणस्तरहिन खाना, नास्ता खुवाउने गरेको गुनासो गरेपछि शुक्रबार समितिले वीरेन्द्रनगरको न्यून रोड स्थित (क्वारेन्टाइनमा बसेकालाई खाना खुवाउने ठेक्का लिएको) होटल श्रृृखलाको (किचेन) भान्सा स्थलको अनुगमन गरेको हो ।

समितिले अनुगमनका क्रममा पर्याप्त सरसफाई नभएको, खाद्यन्न भण्डारणको उचित व्यवस्था नरहेको, फ्रिजको व्यवस्था नरहेको, भान्सामा काम गर्ने कामदारले स्वास्थ्य मापदण्ड नअपनाएको पाईएको अनुगमन समितिका सदस्य एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका निमित्त प्रमुख भेषबहादुर थापाले जानकारी दिए । उनले होटल पूर्ण रुपमा सञ्चालनमा नआईसकेको अवस्थामा रहेको पाइएकाले आवश्यक मापदण्ड पुरा गर्न सुझाव दिएको बताए । ‘अनुगमनमा खाना बनाउने स्थल, खाद्यान्न तथा तरकारी भण्डार व्यवस्था, फोहोर व्यवस्थापन जस्ता आवश्यक आधारभूत मापदण्ड पुरा नभएको पाईयो,’ उनले भने, ‘यद्यपि ! होटल सञ्चालकले होटल पूर्णरुपमा सञ्चालनमा नआउँदै लकडाउनका कारण पूर्णता दिन नसकेको बताएपनि कानूनले मापदण्ड पुरा गरेर मात्र चलाउनु भन्छ ।’

उनले तत्काल आवश्यक मापदण्ड पुरा गरेर अनुगमन समितिले दिएको निर्देशनको पालना गर्न होटल सञ्चालकलाई सुझाव दिएको बताए । उनका अनुसार अनुगमन समितिले दिएको निर्देशन पालन नगरे कानून अनुसार कार्वाही हुन्छ । होटलले खुवाउने खाना तथा नास्ताको गुणस्तर सामान्य देखिएपनि ल्याब परीक्षण पछि मात्र थाहा हुने उननको भनाइ थियो । अनुगमनमा जिल्ला प्रशासन कार्यालय, उद्योग उपभोक्ता हित संरक्षण निर्देशनालय कर्णाली प्रदेश, जिल्ला प्रहरी कार्यालय एवं राष्ट्रिय उपभोक्ता मञ्चका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

Translate »