पाँच किलो चामलका लागि पाँच घण्टा

लकडाउनमा वीनपाको राहत वितरण प्रक्रिया

वीनपाको राहत वितरण समाचार विश्लेषण

स्काई न्यूज/ बैशाख २५, सुर्खेत ।
विश्वभर फैलिरहेको कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि मुलुकमा लकडाउन जारी छ । कोरोनाको त्रास घटनुको साटो दिनप्रतिदिन बढ्दै गएको छ । अब देशमा पोजेटिभ संक्रमितहरु नभेटिए पनि हुन्थ्यो भन्ने कर्णालीका आम नागरिकको आशा हो । तर, कर्णाली प्रदेशका छिमेकी सुदूरपश्चिम प्रदेशसँगै ५ नम्वर प्रदेशको नेपालगञ्जमा कोरोजा पोजेटिभहरुको संख्या बढ्न थालेपछि अझ शसंकित बनाएको छ । प्रदेश सरकारले सोमबार ७ दिनका लागि प्रदेशका सीमा नाका नै सिल ग¥यो । देश नै ठप्प भइरहेका बेला कर्णाली प्रदेश नहुनै कुरै भएन् । नागरिकले जसोतसो इमान्दारीका साथ लकडाउनको पालना गरिनै रहेका छन् । नगरुन पनि कसरी, ज्यानको मायाँ त सबैलाई हुन्छ नै । ‘एक दिन बाँचे नौ लाख तारा देखिन्छ’ भन्ने नेपाली उखान काफी छ ।


लकडाउनका कारण दैनिक ज्याला मजदूरी गर्न नपाएर समस्यामा परेका परिवारलाई राहत दिन यतिबेला सुर्खेतका स्थानीय तहहरु आ–आफ्नै योजना बनाएर अघि बढिरहेका छन् । केही स्थानीय तहले लगत संकलन गरी राहत वितरण गरिसकेका छन् । लकडाउनका समयमा मजदूरी गरेर बिहान बेलुकाको छाक टार्ने मजदूर वर्गलार्ई समस्या परेका र कतिपय श्रमिकको घरको चुल्हो नबल्ने स्थिति आएकाले वीरेन्द्रनगर नगरपालिकाले राहत वितरण तीव्र पारेको कार्यवाहक मेयर मोहनमाया ढकालको भनाई छ । उनले नगरपालिकामा रहेका अतिविपन्न परिवारको लगत संकलन गरी राहत वितरण गरिरहेको जनाईन् । उनका अनुसार वीनपाका १६ वटै वडामा हालसम्म एक करोड बढीको राहत वितरण भईसकेको छ ।


तर, लकडाउनका कारण विद्यार्थी, ज्याला मजदुरी गर्नेहरुलाई छाक टार्न अफ्ट्यारो परेपछि राहत माग्नेको कमी छैन् । पहिलो चरणको राहत वितरण सम्पन्न गरेपछि दोस्रो चरणमा पनि राहत आवश्यक पर्नेेहरुका लागि पैसा नलाग्ने दुई वटा फोन नम्वर उपलब्ध गराईएको वीनपाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल बताउँछन् । स्काई न्यूज दैनिकले वीनपाको राहत वितरण प्रक्रियालाई  अझै सहज, सरल बनाउन सुझाव दिएको छ ।  अहिलेपनि कतिपय विद्यार्थी, ज्याला मजदुरी गरिखानेहरुलाई वीनपाले उपलब्ध गराएको पाँच किलो चामलका लागि पाँच घण्टा खर्चिनु  परेको गुनासो गरेका छन् ।  वीनपाले अब जनताको माग अनुसार राहत वितरण प्रक्रियालाई सहज, सरल बनाउन तर्फ जुट्नु पर्छ । यद्यपि ‘लकडाउन’ पछि घर फर्किन नपाएर वीरेन्द्रनगरमा वेखर्ची भएर बसेका नागरिकलाई सोमबार टंक लामिछाने नेतृत्वको तीन सदस्यीय टोलीले वडा नम्वर ६ गणेशमान मार्गमा  १८ घरपरिवारलाई खाद्यान्न सामाग्री उपलब्ध गराउन सिफारिस ग¥यो । राहत पाएका ती नागरिकले नगरपालिकाका कर्मचारीलाई आर्शिरवाद मात्र दिएनन्, बल्कि वीनपाको (क्वीक रिस्पान्स) एक्शनको समेत प्रशंसा गरे । उनीहरुले अहिले पनि नागरिकप्रति सरकार जिम्मेवार रहेको महशुस गरिरहेका छन् । वीनपाले अहिले प्रति व्यक्ति ५ किलो चामल, एक किलो दाल र एक किलो नून राहतमा उपलब्ध गराई रहेको छ ।


विपन्न तथा अति आवश्यक परेका नागरिकलाई विभिन्न संघसंस्था तथा मनकारी व्यक्तिहरुले पनि लकडाउनमा राहत वितरण गरेका छन ।  लकडाउनमा कतिपय स्थानमा जनतालाई राहत भन्दा आहत दिने काम समेत भएका गुनासाहरु आएका छन् । सिंहदरबारको प्रशासन गाउँगाउँमा भन्ने नारा र अभ्यास अनुसार सम्पूर्ण अधिकार गाउँगाउँमा पुगेको जनताले महशुस गर्ने बेला यहीं भएको विज्ञहरु बताउँछन् । पछिल्लो चरण स्थानीयरुपमा स्रोत संकलनदेखि परिचालन पद्धतिको विकास पनि स्थानीय सरकार मार्फत नै शुरु भएको देखिन्छ । यसमा समग्र नागरिकको दायित्व र भूमिका बोध हुन थालेको छ । वीनपाका स्थानीय नागरिकको जिज्ञासा र विषय वस्तुमा नजिक रही सुसूचित र पारदर्शी नगरपालिका निमार्णको लागि नगरपालिका मार्फत नागरिकको घरदैलामा जनप्रतिनिधि प्रत्येक वडामा पुग्न आवश्यक देखिन्छ । स्थानीय नागरिकको समस्या र सवालमा जनप्रतिनिधि तथा नगरपालिका प्रशासनको सक्रियतामा प्रत्येक वडा–वडामा सम्बोधन गर्ने कार्य योजना बनाईनु पर्छ ।

Translate »