वैशाख २६ गतेबाट संचालन हुन पाउने उद्योगहरु के–के हुन् ?

( मन्त्रिपरिषदको निर्णय)

वैशाख २४, काठमाडौं ।

 कोरोना भाइरसको संक्रमण तथा रोकथामका लागि लकडाउनको अवधि लम्बिदैं जाँदा सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चाल गर्न दिने निर्णय गरेको छ । बुधवार लकडाउनको अवधि जेठ ५ गतेसम्म लम्ब्याउने निर्णय गरेको मन्त्रिपरिषदले खाद्यान्न तथा अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योगहरु वैशाख २६ गतेबाट सञ्चालन गर्न  दिने निर्णय गरेको हो ।मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै  अर्थमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले उद्योग मन्त्रालयको प्रस्ताव तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितको सिफारिसमा त्यस्ता उद्योग सञ्चालन गर्न दिने निर्णय भएको बताए । उनले विशेष आर्थिक क्षेत्रमा सञ्चालित सबैखाले उद्योग तथा औद्योगिक क्षेत्रभित्र रहेका उद्योगहरुसहितका उद्योग सञ्चालनमा ल्याउने निर्णय भएको पनि बताए ।  तर उनले उद्योग तथा कलकारखाना सञ्चालन गर्दा उद्योगी तथा मजदूरले सामाजिक दूरी कायम गर्ने, मास्क, स्यानिटाइजरको प्रयोग गर्ने जस्ता सुरक्षाका अपानाउनुपर्ने छ भने । यसैगरी उनले सम्बन्धित उद्योगको पत्रको आधारमा उद्योगका गाडीहरु ढुवानीका लागि आवतजावत हुँदा सुरक्षा निकायले नरोक्ने निर्णय भएको पनि बताए । त्यस्तै सरकारले यस्ता उद्योग सञ्चालन हुँदाका बखत श्रमिक र कार्यरत अन्य जनशक्तिहरु अनिवार्य रुपमा कार्यस्थलभित्रै बस्नुपर्ने  व्यवस्था सम्वन्धित् उद्योगी तथा व्यवसायीले मिलाउनु पर्ने भनेको छ  । यसरी उद्योगमा कार्यरत हुँदा मजदूरहरुलाई खानाको व्यवस्था कार्यस्थलभित्रै गर्नुपर्ने तथा कार्यस्थलबाट बाहिर जान र कार्यस्थलबाहिर रहेका परिवारका सदस्यलगायत अन्य कुनैपनि व्यक्तिसँग सम्पर्कमा आउन नदिने भनिएको छ । उद्योगभित्र संभव उद्योगमा नभए उद्योग परिसरभन्दा नजिकको दूरीमा रहेका सार्वजनिक भवनमा मजदूरहरुलाई आवासको व्यवस्था गर्नुपर्ने छ । मजदूरहरुलाई स्थानीय प्रशासनको अनुमतिमा पासको व्यवस्था गरेर ल्याउने लानु पर्ने छ । त्यसका साथै  सम्वन्धित् उद्योगी  तथा व्यवसायीले लागत खर्च  व्यहोर्ने  तथा मजदूरहरुको नियमित स्वास्थ्य जाँच गर्नुपर्ने र सामाजिक दूरी कायम गर्न लगाउनुपर्ने  छ ।  वैशाख २६ गतेदेखि  स्वास्थ्य सुरक्षाका उपायहरु अबलम्वन गरेर निम्न उद्योग सञ्चालन हुन पाउने छन्  ।

कफी उद्योग, चाउचाउ उद्योग, मसला उद्योग,कफी उद्योग,  प्याकेजिङ गर्ने उद्योग, दाल उद्योग, दाना उद्योग, ग्याउ उद्योग, चिनी उद्योग, खाने तेल तथा घ्यू उद्योग, ईंटा उद्योग, खानेपानी उद्योग, औषधी उद्योग, दुग्धजन्य उद्योग,फलाम,सिमेन्ट,विद्युतीय सामग्री उद्योग,जुस, प्लाईउड,फलाम,खानी,धान तथा चामल ,बालुवा प्रशोधन, जस्तापाता, लघु तथा घरेलु, अलैंची तथा अदुवा प्रशोधन,ग्रिल,सःमिल, ढुवानी तथा कार्गो सेवा,मोटर ग्यारेज,आल्मुनियम,फोहोर मैला तथा प्रशोधन, हेभि मेसिनरी  औजार, खनीजजन्य उद्योग र खानी, छापाखाना तथा प्रेस, विशेष आर्थिक क्षेत्रमा  सञ्चालित सवै उद्योग, औद्योगिक क्षेत्रका सवै उद्योग,चिया प्रशोधन लगायतका उद्योगहरु सञ्चालन गर्न पाइने छ ।

Translate »