वीनपाद्वारा २ करोड राहत वितरण

स्काई न्यूज/ बैशाख १४, सुर्खेत ।

वीरेन्द्रनगर नगरपालिकाले लकडाउन अवधिभर झण्डै रू. दुई करोडको राहत सामग्री वितरण गरेको छ । नगरपालिकाले खर्च विवरण सार्वजनिक गर्दै रू. एक करोड ९६ लाख ६३ हजार ६२३ को राहत सामग्री वितरण गरेको जानकारी दिएको छ ।कार्यवाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा शनिवार बसेको बैठकले शुक्रवारसम्म एक हजार ६९१ परिवारलाई राहतस्वरुप विभिन्न खाद्य सामग्री वितरण गरिएको विवरण पारित गरेको हो । कार्यवाहक नगरप्रमुख ढकालले ज्यालादारी मजदूर, अतिविपन्न परिवारलाई प्राथमिकतामा राखेर खाद्य सामग्री राहतस्वरुप वितरण गरेको जानकारी दिए ।

नगरपालिकाले कोरोना संक्रमण तथा रोकथाम नियन्त्रण र उपचार कोषमा प्रदेश सरकारको रू. ३० लाख, अन्य व्यक्ति तथा संस्थाबाट रू. ६ लाख ८३ हजार २१५ गरी ३६ लाख ८३ हजार २१५ बचत हुन आएको जानकारी दिएको छ ।कार्यपालिका बैठकले लकडाउन शुरु हुनुपूर्व सञ्चालनमा रहेका विभिन्न पूर्वाधार निर्माणकार्यलाई भौतिक दूरी कायम गरी रोगको संक्रमण फैलिन नदिने उपाय अवलम्बन गर्दै स्थानीय प्रशासनसँग समन्वय गरी परियोजना अघि बढाउने निर्णय गरेको छ । त्यस्तै यस अवधिमा कोरोना भाइरस संक्रमण भए/नभएको पत्ता लगाउन १६० जनाको द्रुत निदानात्मक परीक्षण (आरडिटी) गरिएको जानकारी दिएको छ । नगरपालिकाले सुब्बाकुना, छेडा, फलाँटे, बाँगेसिमललगायतका स्थानमा कोरोना संक्रमणसम्बन्धी सचेतना र सहयोगका लागि सहायता कक्षसमेत सञ्चालनमा ल्याएको छ ।

Translate »