त्रिविका माइक्रोबायोलोजिष्ट कर्णालीमा

आइतवारदेखि परीक्षण गरिने

कोरोना भाइरस रोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न त्रिभुवन विश्वविद्यालयका चार माइक्रोबायोलिष्ट कर्णाली पुगेका छन्  । उनीहरू आरडीटी र पीसीआर मेशिनसहित ल्याब सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित सुर्खेत पुगेका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री नवराज रावतको पहलमा त्रिवि माइक्रोवायोलोजी विभाग प्रमुख सह प्राडा मेघराज बन्जाराको नेतृत्वमा सह प्राडा देवराज जोशी, अनिल शाह र विराज लोहनीको टोली कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेको हो ।  विभाग प्रमुख सह प्रा.डा. बन्जाराले कोरोना परीक्षणका लागि माइक्रोबायोलोजिष्टहरूको भूमिका महत्वपूर्ण हुने भएकाले बीमा अध्ययन गरेका माइक्रोबायोलोजिष्टलाई अस्थायी भए पनि लाइसेन्स उपलब्ध गराइ परीक्षणमा खटाउनुपर्ने बताए । कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आइपुगेको छ । बिहीवार उक्त मेशिन नेपाली सेनाको जहाजबाट ल्याएसँगै कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको हो । जर्मनीमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन बिहीवार सुर्खेतमा ल्याएर प्रदेश अस्पताललाई हस्तान्तरण गरिएको छ । नयाँ ल्याइएको ठूलो क्षमताको आरटीपीसीआर मेशिनबाट आइतवारदेखि परीक्षण शुरू गरिने योजना रहेको छ ।

Translate »