आठबीस नगरपालिकामा खेतीयोग्य जमीन बाँझो राख्न नपाइने

स्काई न्यूज /बैशाख ११, सुर्खेत ।

दैलेखको आठबीस नगरपालिका भावी दिनमा निम्तिन सक्ने भोकमरी/खाद्य संकटको विकल्प खोज्ने भएको छ । भविष्यलाई सुनिश्चित गर्न कृषि क्रान्तिलाई जोड दिन नगरपालिका लागिपरेको हो । त्यसका लागि नगरपालिकाले पालिकाभित्रको कुनै पनि खेतीयोग्य जमीन बाँझो राख्न नदिने निर्णय गरेको छ । शनिवार मात्र नगरपालिकाले यस्तो निर्णय गरेको हो । ‘हामीले भोलि हुन सक्ने भोकमरीको समाधान गर्न खोजिरेहका छौं,’ नगर–प्रमुख खड्गराज उपाध्यायले भने, ‘अहिले समुदायमा भोकमरी र महामारीले सताइरहेको छ । यही अवस्था लामो समयसम्म रह्यो भने खाद्य संकट हुने सम्भावना रहन्छ । त्यसको विकल्प खोज्ने प्रयास गरिएको उपाध्याले अभियानलाई जानकारी दिए । अहिले कृषिउपज अपर्याप्त हुँदै गएको र भोकमरी जटिल बन्दै गएको छ । त्यसैमाथि बाहिरबाट खाने मुख लाखौंको संख्यामा थपिने र खाद्यपदार्थ आउन रोकिन सक्ने सम्भावना अत्यधिक छ । त्यसैले नगरपालिकाले ‘कृषिजन्य खाद्यान्न उत्पादन गरौं, भोकमरीबाट बचौं’ भन्ने अभियानका साथ उत्पादनलाई जोड दिन थालिएको उनले बताए ।

नगरप्रमुख उपाध्यायका अनुसार नगरपालिकाले अब खेतीयोग्य जमीन बाँझो राख्ने घरधुरीको तीनपुस्ते विवरण सार्वजनिक गर्नेछ । नगरपालिकाले नगरभित्रका सबै नागरिकलाई आफ्नो जग्गाको विवरण ७ दिनभित्र नगरपालिकामा बुझाउन आग्रह गरेको छ । कुन व्यक्तिको कति जग्गा छ, कस्तो किसिमको जग्गा छ, कुन ठाउँमा कस्तो उत्पादन हुन्छ, त्यसको विवरण आएपछि त्यही अनुसार कार्यविधि अघि बढाइने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज न्यौपानेले बताए । ‘हामीले अल्पकालीन र दीर्घकालीन दुवै पक्षलाई समेट्ने प्रयास गरेका छौं,’ उनले भने । महामारीबाट बच्नका लागि लागि राहत वितरण गरेर मात्र नहुने देखिन्छ, त्यसैले तत्काल उत्पादन् हुने बालीहरूको पनि प्रर्वद्धन गरिनेछ । अब हुने हरेक विकासे योजना, विभिन्न कार्यक्रमहरूलाई कृषि क्षेत्रसँग जोडर मात्र अघि बढाइने नगरपालिकाले लक्ष्य लिएको छ,’ न्यौपानेले भने, ‘कृषिलाई रोजगारीमा जोडिनेछ ।’

Translate »