अभिभावकका लागि केही उपयोगी टिप्सहरु ………

========== यामबहादुर श्रेष्ठ 

आज हामी २१ औं सताब्दीमा बाँचिरहेका छौं । समयको गति संगै हाम्रो जीवनशैली, आवस्यकता, ईच्छा, आकांक्षा र मनोबृत्तिमा पनि परिवर्तन हुदै गईरहेको छ । विज्ञानको चमत्कारिक विकासले हाम्रो दैनिकी र कामकाजमा यान्त्रिकिकरण संगै तौरतरिकाहरुमा पनि परिवर्तन देखापरेको छ । यी परिवर्तनहरुलाई हामीले आत्मसात गर्न सक्यौ भने मात्र यो परिवेशमा सफलतापूर्वक बाँच्न र जीविकोपार्जन गर्न सक्दछौं । आजको आधुनिक युगमा अत्याधुनिक प्रविधिको प्रयोग संगै हामी विभिन्न पेशा ब्यवसायमा संलग्न छौं । जीविकोपार्जनका लागि यो अनिवार्य शर्त पनि हो । पेशागत जीवनवाट हामी यति अभ्यस्त भयौं कि हाम्रो अन्य शारीरिक, पारिवारिक, सामाजिक जिम्मेवारी परिपालनाका लागि हामी संग समय नै छैन । कतै हामी यति यान्त्रीकिकरण त भएनौं कि अरुवाट अपेक्षा राख्ने मात्र, जिम्मेवारी पुरा गर्न उदाशिन रहने । यो परिवेश संगै हामीले तनाव र बिविध प्रकारका समस्या संग जुध्नु पनि परेको छ ।

हरेक बाबुआमा घर परिवारको अभिभावक हुनुको नाताले परिवारका सदस्यहरुको बृहत्तर विकासका लागि एउटा महत्वपूर्ण भूमिका खेल्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा रहेको हुन्छ । परिवारको भरणपोषण र भौतिक आवस्यकताको परिपूर्तिका अलावा सन्ततीलाई पर्याप्त समय र मानसिक तथा सम्वेगात्मक उपचार सहित जिवन्त सम्वन्धको आवस्यकता पर्दछ । आफ्ना सन्ततीलाई शारीरिक, मानसिक र सम्वेगात्मक रुपमा सबल बनाई उचित शिक्षा दिक्षाको माध्यमवाट एक असल, सुसंस्कृत र दृढ ईच्छा शक्ति भएको उत्पादनशिल नागरिकको रुपमा तयार पार्नु पनि एक अभिभावकको रुपमा हाम्रो जिम्मेवारी र कर्तव्य हो । आजभोली छोरा छोरीलाई गास वास र कपासको ब्यवस्था सहित राम्रो विद्यालय पठाउनु भनेको सम्पूर्ण रुपमा अभिभावकको जिम्मेवारी पूरा गर्नु हो भन्ने बुझाई आम अभिभावकहरुमा रहेको पाईन्छ, जुन पर्याप्त होईन । अपेक्षा राख्छौं, अब सम्पूर्ण जिम्मेवारी मात्र विद्यालयको हो । अरु दिन त हामी ब्यस्त हुन्छौं नै, शनिवार वा विदाको दिन एक क्षण पनि छोरा छोरी संग समय बिताउन हामीलाई फुर्सद नै नहुने बानी भै सक्यो हाम्रो । छोरा छोरीको बानी ब्यवहार र पढाईमा चित्त नबुझे विद्यालयमा गुनासो गर्छौं, विद्यालयले सुधार गर्न नसकेको बुझाईका साथ, जुन स्वभाविक पनि हो । आफ्ना नानी वावुहरुलाई हामीवाट अपेक्षित ब्यवहार सहितको असल विद्यार्थी र नागरिक बनाउन उनीहरुलाई हाम्रो पर्याप्त माया, समय, रेखदेख, पृष्ठपोषण र सम्पूर्ण रुपमा हाम्रो सचेत अभिभावकत्व आवश्यक हुन्छ ।

यस सन्दर्भमा मेरो २५ वर्षको शिक्षण जीवन र प्रधानाध्यापकको अनुभवको आधारमा अभिभावक ज्यूहरुले निम्नानुसारका कुराहरुमा ख्याल पुऱ्याउन सके हाम्रा नानीबाबुहरु लाई योग्य, सक्षम, ब्यवहारिक, आज्ञाकारी, उत्तरदायी, नैतिकवान र उत्पादनशिल नागरिक तयार गर्न सहयोग पुग्दछ भन्ने मलाई लाग्दछ ।
१. नानीबाबुहरु संग ब्यवहार गर्दा सधै सकारात्मक ब्यवहार गर्नुहोस ।
२. छोराछोरीले गर्ने सानोतिनो गल्तिमा रिसाउने र सजाय दिने काम नगर्नुहोस ।
गल्ति महसुस गर्न र सच्याउन रचनात्मक भूमिका खेल्नुहोस ।
३. छोराछोरीहरु लाई काम अह्राउनु भन्दा आफु संगसंगै काममा सहभागी गराउनुहोस ।
४. छोराछोरीहरुलाई उमेर समूह अनुसार आफ्नो र घरपरिवारको पारिवारिक, सामाजिक र आर्थिक अबस्थाको बारेमा समय मै जानकारी गराउनुहोस । आफु वा परिवार समस्यामा रहने गरि सन्ततीको अनाबश्यक माग तर्क सहित पुरा नगर्नुहोस ।
५. छोराछोरीलाई पूर्ण रुपमा विश्वास गर्नुहोस, उपयुक्त कामको जिम्मेवारी दिनुहोस र रेखदेख गर्नुहोस ।
६. छोराछोरीको दैनिकी, ब्यबहार र गतिबिधिको नियमित अनुगमन गर्नुहोस । असामान्य ब्यवहार महसुस भएमा अप्रत्यक्ष ढंगले अध्ययन गरि सुधारको योजना बनाउनुहोस ।
७. ठूला पारिबारिक समस्या र अभिभावक बीच हुने छलफल, मतमतान्तर र बिबाद छोराछोरीको अगाडी नगर्नुहोस वा सहभागि नगराउनुहोस । निश्कर्ष निकालि सके पछि मात्र प्रस्तुत हुनुहोस ।
८. छोराछोरीको अगाडी एकले अर्काको आलोचना, कमीकमजोरी उजागर गर्ने वा एक को अनुपस्थितिमा अर्कोले कुरा काट्ने नगर्नुहोस ।
९. बुवाआमा दण्डाधिकारी नभै हाम्रो अभिभावक र सहयोगी ब्यक्ति हुनुहुन्छ भन्ने कुरामा छोराछोरीलाई विश्वस्त बनाउने वातावरण तयार गर्नुहोस ।
१०. छोराछोरीहरु लाई अभिभावकको ईच्छा अनुसार दमनात्मक ब्यवहार लाद्नुको सट्टा उनीहरुको ईच्छा, आकांक्षा, आवश्यकता र गुण सक्षमताको पहिचान गरि सोही अनुकुलको ब्यवहार र बातावरण दिनुहोस ।
११. सामाजिक, सामुहिक विषय र विवादमा एक पक्षीय रुपमा छोराछोरीको पक्षपोषण नगर्नुहोस ।
१२. छोराछोरी बीच कुरामा होईन ब्यबहारमा समतापूर्ण ढङ्गले प्रस्तुत हुनुहोस ।

लेखकः– सुर्खेतको वीरेन्द्रनगर स्थित जन नमूना माध्यमिक विद्यालयका  प्रधानाध्यापक हुनुहुन्छ ।

Translate »