सरकारी कर्मचारीबाटै लकडाउनको अवज्ञा

स्काई न्यूज/ चैत ३०, सुर्खेत ।
सुर्खेतमा सरकारी पक्षबाटै लकडाउनको अवज्ञा भइरहेको छ । महत्वपूर्ण काम भन्दै सरकारी कर्मचारी बाहिर निस्कन थालेका छन् । उनीहरु प्रहरीलाई समेत नटेरी बाहिर निस्के छन् । जसका कारण कोरोना भाइरसको संक्रमण खतरा बढेको छ । ’लकडाउन’लाई नेपालबन्दको रुपमा लिएर जथाभावी घुम्ने सरकारी कर्मचारीसँगै स्थानीयको पनि बाक्लो उपस्थिति छ । स्थानीय, पालिकालगायत अन्य सरकारी कार्यालयका केही कर्मचारी घरमा सेल्फ क्वारेन्टाइनमा बसेको भएपनि काम परेको भन्दै जिल्ला सदरमुकाम धाइरहेका छन् । सरकारी कर्मचारी भनेपछि प्रहरीले सोधपुछ पनि गर्दैनन् । यसरी सरकारी पक्षबाटै लकडाउन उलंघन हुँदा जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको छ ।

सुर्खेतमा भारतबाट स्वदेश फिर्ता भएका १ सय ८३ जनाको थ्रोट स्वाब सकंलन गरी परीक्षणपछि नेगेटिभ देखिएपछि उनीहरु घर फर्कि सकेको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका वरिष्ठ अधिकृत चेतननिधि बाक्लेले बताए । सरकारी तवरबाट लकडाउनको उलंघन भएको पाइएमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताए । ‘लकडाउनको समयलाई सबैले पालना गर्नै पर्छ, सरकारी कर्मचारीले नियम पलना गर्न अभिमुखिकरण गर्नुपर्ने ठाउँमा आफैं उलंघन गर्छ भने कारबाही हुन्छ,’ सहायक प्रमुख जिल्ला अधिकारी खड्काले भने । प्रहरीले कडाइका साथ लकडाउनको पालन गर्न अनुरोध गरिरहेको भएपनि सडकमा बिना काम निस्कने मानिसहरुले गर्दा समस्या भएको एक प्रहरीले बताए । अतिआवश्यक काममा आएका मानिसबाहेक अन्यलाई घरबाहिर ननिस्कन प्रहरीले सूचना जारी गरिरहेको छ । जिल्लाको सबै भन्दा बढी वीरेन्द्रनगर, छिन्चु, मेहलकुना, बाबियाचौर, गुटुलगायतका क्षेत्रमा लकडाउनको उलंघन भएको छ । सुदूरपश्चिममा पनि केही दिन आगाडि कोभिड १९ को संक्रमण चार जनामा भेटिएपछि पहाडि जिल्लामा लकडाउनलाई कडाईका साथ लागु गर्नुपर्ने देखिन्छ ।


मान्छे जम्मा हुन छाडेनन्
कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न गरिएको लकडाउन बजारमा प्रभावकारी भएको छैन् । तेस्रो चरणको लकडाउन चलिरहँदा बजारमा मान्छेको बाक्लो उपस्थिति देखिएको छ । किनमेलको भीडभाड अत्यधिक छ । प्रशासनले हिँडडुल गर्न रोक लगाएको भएपनि सकडमा मान्छेको चाप कम नहुँदा जोखिम बढेको हो । सदरममुकाम वीरेन्द्रनगरका प्रायः सबै बजार क्षेत्रमा मान्छे र व्यवसायीहरुको बाक्लै भिड देखिन्छ । उपभोग्य सामानको आपूर्तिमा सहज होस् भन्दै जिल्ला प्रशासन कार्यालयले विहान ७ देखि ९ एवं दिउँसो १ देखि ३ बजे सम्म बजार खोल्ने अनुमति दिएको थियो । तर त्यसको व्यवस्थापन राम्रो नहुँदा यो समस्या देखिएको हो ।

‘संक्रमणको प्रकोप अझै उस्तै छ तर पनि बजारमा भिड देखिनुले थप संक्रमणको सम्भावना बढाएको छ,’ वीरेन्द्रनगरकी समाजसेवी लक्ष्मी शर्माले भनिन्, ‘यो अवस्थाले त झनै जोखिम बढाएको हो ।’ उनले बजार खोलेपछि प्रशासनले बलियो निगरानी गर्नुपर्ने र स्थानीय सरकारले दरिलो ब्यवस्थापन गरेर जोखिमको सम्भावना कम गराउनु पर्ने धारण राखिन् । मानवीय आवात जावत मात्रै हैन, साना तथा मालबहाक सवारी साधनसमेत निर्वाध रुपमा सञ्चालन भएका छन । बजारमा भिड बढ्दै जानु र नचिनेका मान्छेहरु पनि देखिनुले स्थानीय आतंकित भएका छन् । स्थानीय सरकाले यसको उचित व्यवस्थापन गरेर आफना नागरिकको सुरक्षा गर्नुको साटो लथालिङ बनाउने मात्रै काम गरेको स्थानीयको आरोप छ । उपभोग्य वस्तुका लागि बजार खोले पनि त्यसलाई व्यवस्थित तरिकाले खोल्नुपर्ने उनले बताईन् । राष्ट्रिय उपभोक्ता मञ्च कर्णाली प्रदेश सदस्य डिलबहादुर खत्रीले बजारलाई तत्काल व्यबस्थापन गर्नुपर्ने देखिएको बताए । ‘यो छाडा भयो । यसलाई नियन्त्रण र व्यवस्थापन गर्नु पर्छ,’ उनले भने ‘स्थानीय सरकार र स्थानीय प्रसासनले यसमा चासो दिनुपर्छ । यो भिड भाड गराएर जोखिम बढाउने मात्रै काम हो ।’

Translate »