लकडाउनमा सुर्खेत कांक्रेविहार यातायातद्वारा खाद्यान्न सहयोग


स्काई न्यूज/ चैत २९, सुर्खेत ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीले सरकारले जारी गरेको लकडाउनका कारण दैनिक मजदुरी तथा ज्यालादारी गरिखाने वर्ग प्रत्यक्ष मारमा परेको छ । शनिबार सुर्खेत काँक्रेविहार यातायात प्रालिले लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दे आफ्ना कर्मचारीसँगै जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयलाई दैनिक उपभोग्य वस्तु सहयोग गरेको हो । लकडाउनका कारण खाद्यान्न संकट भएपछि प्रालिले आफ्ना ३५ जना कर्मचारी र आश्रित परिवारलाई घरमै पुगेर खाद्यान्न उपलब्ध गराएको प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए । उनले प्रति कर्मचारी २५ किलो चामल, तीन किलो दाल, नुन र तेल उपलब्ध गराइएको जनाए ।

उनका अनुसार लकडाउनका कारण एउटै ठाउँमा जम्मा हुने अवस्था नरहेकाले घरघरमै पुगेर खाद्यान्न वितरण गरिएको हो । लकडाउनको अवधि थप भएमा प्रालिका तर्फबाट अरु पनि सहयोग गरिने उनको भनाइ छ । उनले लकडाउनको अवधि बढ्ने अवस्था आएमा गाडी चालक र हेल्परका परिवारलाई पनि सहयोग उपलब्ध गराइने जनाए । त्यस्तै प्रालिले शनिबार जिल्ला प्रहरी कार्यालयलाई ५० पेटी पानी र ४५ कार्टुन चाउचाउसँगै जिल्ला जिल्ला ट्राफिक प्रहरीलाई २० कार्टुन पानी र १५ कार्टुन चाउचाउ उपलब्ध गराइएको अध्यक्ष सापकोटाले बताए ।

‘हामीले सामाजिक उत्तरदायित्व अन्तर्गत विपतको यस अघिमा सबैभन्दा पहिले आफ्ना कर्मचारीसँगै यातायात मजदुरलाई सम्झेंका छौं,’ उनले भने, ‘त्यति मात्र होइन, जिल्ला प्रहरी कार्यालयसँगै जिल्ला ट्राफिक प्रहरीसँग पनि सुमधुर सम्बन्ध रहेकाले अह्रोरात्र खटिने सुरक्षाकर्मीलाई संकटको समयमा सानो सहयोग गरेका हौं ।’ उनले आउँदा दिनमा थप सहयोगको आवश्यकता महशुस भएमा प्रालिका तर्फबाट कर्मचारीसँगै सुरक्षाकर्मीलाई समेत मन खोलेर सहयोग गरिने जिकिर गरे ।

Translate »