प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशनद्वरा कर्णाली सरकारलाई ९० हजार सहयोग

स्काई न्यूज /चैत २७, सुर्खेत ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) को रोकथाम तथा व्यवस्थापनका लागि प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएशन नेपाल (पिन) कर्णाली प्रदेशले आर्थिक सहयोग गरेको छ । पिन कर्णालीले विहीबार प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रणका लागि स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा ९० हजार रुपैयाँ सहयोग गरेको हो । कर्णालीमा कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा व्यवस्थापनका लागि सानो रकम भएपनि केही सहयोग पुगोस् भन्ने हेतुले सहयोग पिन कर्णालीका प्रदेशका अध्यक्ष रामचन्द्र विसीले बताए । कर्णालीका इन्जिनियरहरुबाट संकलित सहयोग रकम प्रदेश सरकार मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री दल रावलको उपस्थितिमा हस्तान्त्रण गरिएको पिन कर्णालीका सचिव टिकाराम पोखरेलले जानकारी दिए ।

उनले देशका लागि अहोरात्र खटिने कर्णालीका ईन्जिनियरहरुले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम सहयोग गरिएको बताए । ‘कोरोना विरुद्धको यस विषम् परिस्थितिमा सबै मानवजाति एकजुट भई यसको प्रतिकारमा उभिएका बेला ईन्जिनियरहरुले पनि केही गर्नु पर्छ भन्ने हेतुले सानो सहयोग रकम संकलन गरेका हौं,’ उनले भने, ‘कोरोनाको प्रभाव न्यूनिकरण एवं रोकथाम गर्दे जाने उद्देश्यले सरकारले जारी गरेको लकडाउन कार्यान्वयनका लागि अग्रपंतिमा रही निस्वार्थ खटिरहनु भएका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, निजामति कर्मचारी, सुरक्षाकर्मी तथा स्वयंसेवकलाई हार्दिक नमन गर्दछौं ।’ उनले मानवजातीको भलाईका लागि कर्णाली प्रदेशका ईन्जिनियरहरुको साथ, सहयोग सदा रहि रहनेमा विश्वस्त रहन आग्रह गरे । सो अवसरमा मुख्यमन्त्री शाहीले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकार, नीजि क्षेत्र, कर्मचारी एवं आम नागरिक सबैको सहकार्य अपरिहार्य रहेको भन्दै सहयोग दाताहरुलाई धन्यवाद व्यक्त गरे ।

Translate »